सार्वजनिक सेवा प्रवाहमा सुधार नहुँदा असन्तोष बढेको हो : उपाध्यक्ष श्रेष्ठ

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठले सार्वजनिक सेवा प्रवाहमा तत्काल सुधार आवश्यक रहेको बताएका छन् । दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएका आधारभूत सेवामा देखिएका समस्या समाधान गर्न सरकारको गम्भीर ध्यान जानुपर्ने उनले जोड दिए ।

उनले ड्राइभिङ लाइसेन्स, पासपोर्ट र राष्ट्रिय परिचयपत्र जस्ता सेवामा लामो लाइन, झन्झटिलो प्रक्रिया र कमजोर व्यवस्थापनका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको बताए । ठूला–ठूला नीति र घोषणाभन्दा पनि सामान्य सार्वजनिक सेवामा सुधारलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

विगतदेखि नै सरकारहरूले सार्वजनिक सेवा सुधारमा पर्याप्त ध्यान नदिँदा जनतामा असन्तोष बढ्दै गएको श्रेष्ठको भनाइ छ । कानुनी उल्झन र व्यवस्थापनको कमजोरीका कारण सेवा प्रवाह सहज हुन नसकेको उनले औँल्याए ।

व्यवसाय क्षेत्रतर्फ संकेत गर्दै उपाध्यक्ष श्रेष्ठले राजनीति र व्यवसायबिचको अत्यधिक घनिष्ठ सम्बन्धले नकारात्मक सन्देश फैलिरहेको बताए । राजनीतिक लबिङ र प्रभावका आधारमा व्यवसाय चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गर्दै उनले उद्योगी–व्यवसायीहरू नविनता, सिर्जनशीलता र प्रोफेसनलिज्मतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘ठूला कुरा धेरै आउने गरेका छन्, ती पूरा पनि गर्नुपर्ला । तर सामान्य सार्वजनिक सेवा—जस्तै ड्राइभिङ लाइसेन्स, पासपोर्ट, राष्ट्रिय परिचयपत्र-लिन लामो लाइन बस्नुपर्ने अवस्था छ । सरकारले त्यहाँ ध्यान पुर्‍याउन सकेको छैन । यसले जनतामा असन्तोष सिर्जना गरिरहेको छ ।’

सञ्चार क्षेत्रको भूमिकाबारे पनि उनले टिप्पणी गरे । भदौ २३ र २४ का घटनाबाट पाठ सिक्दै सञ्चारमाध्यम थप जिम्मेवार हुनुपर्ने उनले बताए । श्रेष्ठका अनुसार केही सञ्चारमाध्यमले नेपालमा केही पनि नभएको जस्तो भाष्य निर्माण गर्दा असन्तोष बढ्न गएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?