नेपालमा राजसंस्था अति आवश्यक भइसक्यो : रविन्द्र मिश्र

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्रले नेपालमा राजसंस्था अहिले अपरिहार्य भइसकेको दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित पार्टीका उम्मेदवारहरूको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सबै जातजाति, भाषाभाषी, धर्म–संस्कृति, राजनीतिक दल, गुट र व्यक्तिलाई समेट्दै देशलाई अघि बढाउन राजसंस्थाको आवश्यकता रहेको बताए ।

वरिष्ठ उपाध्यक्ष मिश्रले मुलुकलाई राजसंस्थासहितको शासन व्यवस्थातर्फ लैजान नयाँ समझदारी आवश्यक रहेको र त्यसका लागि राप्रपाको विकल्प नरहेको दाबी गरे । उनले आम मतदाताले यस पटक राप्रपालाई मतदान नगरे देश पुनः संकटबाट मुक्त नहुने अवस्था कायम रहने चेतावनी दिए ।

उनले भने, ‘अब राप्रपाले भन्दै आएको नयाँ समझदारीमा देशलाई लैजानै पर्छ । विभिन्न जातजाति, भाषाभाषी, धर्म–संस्कृति, राजनीतिक पार्टी र व्यक्तिहरूभन्दा माथि रहने एउटा राजसंस्थाको छहारी नेपालका लागि अत्यन्त आवश्यक भइसकेको छ । यो हाम्रो पुस्ताका लागि मात्र होइन, भावी पुस्ताका लागि अझै बढी आवश्यक छ ।’

मिश्रले मतदाताले यस्ता विषयलाई गम्भीर रूपमा मनन गरेर मतदान नगरे प्रत्येक निर्वाचनमा उत्साह त देखिने तर समस्याको समाधान नहुने दुष्चक्र जारी रहने उल्लेख गरे । समाधानको दिशामा जान अब विकल्प नरहेको उनको भनाइ थियो ।

यसैगरी, उनले नेपालमा राजसंस्थाको आलोचना गर्दै आएका केही नेताहरूमा पछिल्लो समय मौनता देखिन थालेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?