अधिकांश मतदाता मुलुकमा राजा नभई हुँदैन भन्ने पक्षमा छन् : कमल थापा

लोकपथ
91
Shares

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता कमल थापाले मुलुकमा राजसंस्था आवश्यक रहेको धारणा अधिकांश मतदातामा रहेको दाबी गरेका छन् । 

काठमाडौं क्षेत्र नम्बर–५ का राप्रपा उम्मेदवारसमेत रहेका थापाले काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै देशमा हिन्दु राष्ट्र र राजसंस्थाको चाहना बढ्दो रूपमा देखिएको बताएका हुन्  ।

थापाका अनुसार यो धारणा बुढापाकामा मात्र सीमित नभई युवापुस्तामा अझ बलियो रूपमा देखिएको छ । 

‘जहाँ–जहाँ हामी मत माग्न गएका छौँ, त्यहाँ अधिकांशले हिन्दु राष्ट्र चाहिन्छ र अब राजा नभई हुँदैन भन्ने कुरा राखेका छन्,‘उनले भने, ‘यो चाहना अहिले युवामाझ झन् बढि देखिन्छ ।’

उनले भ्रष्ट नेता र भ्रष्टाचारलाई संरक्षण गर्ने पार्टीलाई मतदान नगर्न आम मतदातालाई आग्रह गर्न पार्टीका सबै नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । घर–घरमा पुगेर भ्रष्टाचारको अन्त्यका लागि राप्रपालाई मत दिन आग्रह गर्नुपर्ने उनको भनाइ थियो ।

थापाले युवाको आन्दोलन भ्रष्टाचार र बेथितिको अन्त्यका लागि भएको स्पष्ट पार्दै चुनावका बेला पुरानै भ्रष्ट शक्ति दोहोर्‍याउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । ‘हामी दिनरात भ्रष्टाचारको विरोध गर्छौँ, तर चुनाव आउँदा फेरि त्यही भ्रष्टलाई भोट हाल्ने बानी छ,‘उनले भने, ‘यस पटक कम्तीमा पनि भ्रष्ट नेता र भ्रष्टाचारको महारोग भित्र्याउने पार्टीलाई मत नहाल्ने संकल्प गराऔँ ।

वरिष्ठ नेता थापाले वर्तमान अवस्थामै मुलुक अघि बढ्न नसक्ने उल्लेख गर्दै आसन्न निर्वाचनमा राप्रपाको विजय नै देशका लागि विकल्प भएको दाबी गरे । उनले जनताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?