सरकारले कति जेष्ठ नागरिकलाई दिइरहेको छ सामाजिक सुरक्षा भत्ता ?

लोकपथ
175
Shares

काठमाडौं । सरकारले अघि बढाएको सामाजिक सुरक्षा भत्ताको कार्यक्रमबाट २० लाख ९ हजार १ सय ६९ जेष्ठ नागरिक लाभान्वित भइरहेका छन् ।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्रालयकी सचिव राधिका अर्यालले यस्तो जानकारी दिएकी हुन् ।

ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरीय र सम्मानित बनाउन थप विशेष व्यवस्था आवश्यक रहेको विषयमा जरुरी सार्वजनिक महत्वको प्रश्तावमाथि छलफलमा बोल्दै उनले सरकारले ज्येष्ठ नागरिकलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको जानकारी दिइन् ।

उनकाअनुसार हाल ७० वर्षभन्दा माथिका १६ लाख ६० हजार ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् । साथै ६० वर्ष पूरा गरेका १ लाख ६१ हजार दलित ज्येष्ठ नागरिक, १ लाख ७१ हजार एकल महिला तथा तोकिएको क्षेत्रमा ६० वर्ष पूरा गरेका १७ हजार १६९ ज्येष्ठ नागरिक पनि सामाजिक सुरक्षाको दायरामा रहेका छन् । सबै लाभग्राही ज्येष्ठ नागरिकले मासिक चार हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेको अर्यालले जानकारी गराइन् ।

सचिव अर्यालले सबै सार्वजनिक सवारी साधनमा कम्तीमा दुई सिट ज्येष्ठ नागरिकको लागि सुरक्षित गरिएको तथा यात्रुवाहक भाडादरमा न्युनतम ५० प्रतिशत छुट उपलब्ध गराइएको बताइन् । स्वास्थ्य सेवातर्फ सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकका लागि बहिरंग र अन्तरंग सेवामा निश्चित सेवा सहितको सैया वार्डको व्यवस्था गरिएको उनको भनाइ छ ।

उनले उपचार शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था लागू गरिएको उल्लेख गर्दै हाल ७७ जिल्लाका ९४ वटा अस्पतालबाट यस्तो सेवा प्रवाह भइरहेको जानकारी दिइन् ।

उनले भनिन्, ‘ज्येष्ठ नागरिकलाई लक्षित गरी मन्त्रालयले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । अहिले सामाजिक सुरक्षाका कार्यक्रमहरु सञ्चालन गरिएका छन् । हालसम्म सामाजिक सुरक्षा प्राप्त गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या १६ लाख ६० हजार रहेको छ । त्यसैगरी ६० वर्ष पूरा भएका दलित ज्येष्ठ नागरिकको संख्या १ लाख ६१ हजार, ६० वर्ष पूरा भएको एकल महिला १ लाख ७१ हजार र क्षेत्र तोकिएर ६० वर्ष पुरा भएका जेष्ठ नागरिक १७ हजार १ सय ६९ छ । यो गत आर्थिक वर्षको २०८१–८२ को तथ्यांक हो । उहाँहरुले मासिक ४ हजारका दरले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आइरहनुभएको छ । त्यसैगरी यातायात सेवामा समेत छुट सुविधा प्रदान गरिएको छ । सबै सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकका लागि कम्तिमा दुई वटा सिट सुरक्षित गरिएको र यात्रुवाहक भाडादरमा कम्तिमा ५० प्रतिशत छुट गरिएको छ । स्वास्थ्य सेवा तथा औषधि उपचारको क्षेत्रमा ज्येष्ठ नागरिकहरुको लागि सरकारी, सामूदायिक तथा निजी स्वास्थ्य संस्थाहरुमा बहिरंग तथा अन्तरंग सेवामा निश्चित सेवासहितको शैया वार्डको व्यवस्था गरी स्वास्थ्य सेवा लिनसक्ने व्यवस्था गरिएको छ । यद्यपि ज्येष्ठ नागरिकको सेवा प्रवाहको प्रभावकारिताको सम्बन्धमा प्रश्न रहेको छ । यसलाई पूर्ण प्रभावकारी बनाउन सकिएको छैन । स्वास्थ्अय संस्थाले तोकेको संख्यामा जेष्ठ नागरिकले उपचार गराउँदा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिइएको छ । ७७ जिल्लाका ९४ वटा अस्पतालहरुमा हाल यस्तो सेवा उपलब्ध हुनसक्छ । ७० वर्षभन्दा माथिका सबै जेष्ठ नागरिकहरुको लागि १ लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराइएको छ ।’

७० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकका लागि एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमा सुविधा उपलब्ध गराइए पनि सेवा प्रवाहको प्रभावकारितामाथि प्रश्न उठिरहेको सचिव अर्यालको स्वीकारोक्ति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?