काठमाडौं । प्रहरी प्रधान कार्यालयले आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको सुरक्षा अनुगमनका लागि सातै प्रदेशमा अतिरिक्त महानिरीक्षक (एआईजी) खटाएको छ ।
निर्वाचन सुरक्षा तयारी, स्रोतसाधन र संवेदनशीलताको बारेमा अध्ययनका लागि उनीहरूलाई प्रदेशमा खटाइएको हो । कोही एआईजी प्रदेश पुगेका फर्किसकेका छन् भने कोही जाने तयारीमा छन् ।
प्रधान कार्यालयका अनुसार, गण्डकीमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एआईजी डा. मनोज केसी, बागमती प्रदेशमा सिद्धिविक्रम शाह, कर्णालीमा सुशीलसिंह राठौर, कोशी प्रदेशमा राजन अधिकारी, लुम्बिनी प्रदेशमा कार्य विभागका प्रमुख उमाप्रसाद चतुर्वेदी खटिने भएका छन् ।
प्रशासन विभागमा कार्यरत एआईजी हिमालयकुमार श्रेष्ठ भने सुदूरपश्चिम प्रदेशको सुरक्षा चुनौती बुझ्न खटिइसकेका छन् । मधेस प्रदेशमा खटिएका एआईजी डम्बर विक भने त्यहाँको वस्तुस्थिति बुझेर फर्किइसकेका छन् ।
प्रदेश पुगेर फर्किएका एआईजीहरूले दिएको प्रतिवेदनका आधारमा सुरक्षा रणनीति तय गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया