काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आगामी निर्वाचनलाई सामान्य आवधिक निर्वाचनका रूपमा नलिन आम मतदातालाई आग्रह गरेका छन् ।
काठमाडौंमा आयोजित जिल्लाका उम्मेदवारहरूको परिचय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपाले सुरुदेखि नै राजा, राजनीतिक दल र युवा पुस्ताबिच नयाँ सम्झौताको आवश्यकता औँल्याउँदै आएको स्मरण गराए ।
चुनावअघि नै देशअनुकूल मौलिक व्यवस्था निर्माण गर्न सुझाव दिइएको भए पनि जबरजस्ती देशलाई निर्वाचनतर्फ धकेलिएको उनको भनाइ थियो । ‘प्रजातान्त्रिक पार्टी भएको नाताले हामीले यसलाई अवसरका रूपमा उपयोग गर्ने निर्णय गरेका छौँ,’ उनले भने ।
मतदानको महत्त्व स्पष्ट पार्दै अध्यक्ष लिङदेनले भोट सामाजिक सञ्जालमा देखिने सामग्री हेरेर दिने विषय नभएको बताए । ‘यो हात काटेर आफ्नो शक्ति हस्तान्तरण गर्ने कुरा हो,‘उनले भने, ‘हामी छोरी दिँदा कति सोचविचार गर्छौँ ? कुटुम्बको पृष्ठभूमि, आचरण र योग्यता परीक्षण गर्छौँ । एउटा भोट गलत ठाउँमा पर्दा सिङ्गो देशले दुःख पाउँछ ।’
सिंहदरबार जलाउन उक्साउने र जोगाउन नसक्ने तत्वहरू अतिवादतर्फ उन्मुख भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । संसद्मा राप्रपा जस्तो सुस्पष्ट विचार बोकेको शक्ति कमजोर भए देश ठुलो दुर्घटनातर्फ जान सक्ने चेतावनी दिए । देशलाई थप द्वन्द्वमा जान नदिन र स्थिरता कायम गर्न राप्रपालाई जिताउनु अनिवार्य रहेको उनको भनाइ थियो ।
अध्यक्ष लिङदेनले राप्रपा केवल राजसंस्था र हिन्दु राष्ट्रको मुद्दामै सीमित नभई विकासको स्पष्ट मार्गचित्र बोकेको पार्टी भएको दाबी गरे । ‘हामीले अवसर पायौँ भने पाँच वर्षभित्र विकास र रोजगारीको मूल फुटाउँछौँ,’ उनले भने, ‘४०–५० हजार रुपैयाँ तलबका लागि युवाहरू खाडीको गर्मीमा पसिना बगाउन बाध्य हुनुपर्ने अवस्था अन्त्य गर्छौँ ।’
नेपालको निर्णायकत्व नेपाली जनताकै हातमा रहने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आगामी फागुन १ गते हुने पूर्वराजाको सवारीमा उपस्थित हुन सबैलाई आग्रह गरे । साथै, फागुन २१ गते निर्वाचन भए पनि भोलि नै हो भन्ने ठानेर उच्च मनोबलका साथ प्रचारमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया