नेपालमा नीतिगत सुधारको प्रक्रिया जटिल छ : वनमन्त्री चौलागाईं

लोकपथ
70
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले नेपालमा नीतिगत सुधारको प्रक्रिया जटिल र झन्झटिलो भएकाले कार्बन व्यापारजस्ता नयाँ क्षेत्रमा लगानी प्रवाह हुन नसकेको बताएका छन् ।

आइतबार ललितपुरमा आयोजित कार्बन व्यापारसम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चौलागाईंले कार्बन व्यापारसम्बन्धी नीति निर्माण प्रक्रिया सुरु भए पनि हालसम्म टुंगोमा नपुगेको बताए । नीतिगत प्रक्रिया सुस्त हुँदा लगानीकर्ताहरू यस क्षेत्रमा प्रवेश गर्न नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

उनका अनुसार प्रक्रियागत जटिलता र ढिलाइका कारण उच्च जोखिम लिन सक्ने सीमित समूह मात्र कार्बन बजारमा सहभागी हुन सक्ने देखिएको छ । ‘नीति बनाउने कुरामा हाम्रो प्रक्रियामा निकै ढिलाइ हुने गरेको छ । यही ढिलाइका कारण मानिसहरू निराश भइरहेका छन् । सानो हिम्मत भएका लगानीकर्ताले यस क्षेत्रमा हात हाल्नै सक्दैनन्,‘मन्त्री चौलागाईंले भने ।

मन्त्री चौलागाईंले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपिसी) मा यसअघि नै कार्बनसम्बन्धी केही काम भइरहेको जानकारी दिँदै हाल तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडिसी–३) को प्रतिवेदनले कार्बनको ठुलो बजार सिर्जना गरेको बताए । उनका अनुसार एनडिसी–३ को कार्ययोजना (एक्शन प्लान) को मस्यौदा अन्तिम चरणमा पुगेको छ ।

‘एनडिसी–३ को कार्ययोजना सार्वजनिक भएपछि त्यसकै आधारमा थप नीतिगत तथा कार्यक्रमगत काम अघि बढाउन सकिन्छ, ‘उनले स्पष्ट पारे ।

कार्यक्रममा मन्त्री चौलागाईंले हालै वन नियमावलीको तेस्रो संशोधन गरिएको जानकारी दिँदै यसले विकासका कार्यलाई सहज बनाएको दाबी गरे । उनका अनुसार संशोधनपछि रुख कटान तथा भोगाधिकारजस्ता विषयमा पटक–पटक मन्त्रिपरिषद्मा निर्णय गराउनुपर्ने झन्झट हटेको छ ।

वन नियमावलीको संशोधनले यसअघि अवरुद्ध भएका धेरै विकास गतिविधि अघि बढ्न सहज भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?