काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकप अन्तर्गत आज भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा इङ्ल्यान्डसँग हुने खेलका लागि नेपाली क्रिकेट टोलीलाई विजयको शुभकामना व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले शुभकामना सन्देश जारी गर्दै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले मैदानमा नेपालको आत्मविश्वास, एकता र सामूहिकताको उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् ।
उनले नेपाली टोलीले विश्वकप यात्रामा देखाउँदै आएको जुझारूपन र अनुशासनले आजको खेललाई अझ विशेष बनाउने उल्लेख गरिन् ।
आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाललाई विश्वभर रहेका नेपाली तथा क्रिकेट प्रेमीहरूको व्यापक समर्थन रहेको प्रधानमन्त्रीको भनाइ छ ।
विगतका खेलहरूमा टोलीले हासिल गरेका चमत्कारपूर्ण सफलता र ऐतिहासिक प्रदर्शनले आजको प्रतिस्पर्धाप्रति सबैको अपेक्षा बढाएको उनले बताइन् ।
सिंगो राष्ट्रको तर्फबाट नेपाली खेलाडीलाई हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले विजयी भवः भन्दै खेलमा उत्कृष्ट प्रदर्शनको कामना गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया