काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले अभिनेता सुनिल थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालको कला र खेलकुद दुवै क्षेत्रका लागि ठूलो क्षति भएको बताएका छन् ।
चलचित्र विकास बोर्डमा आयोजित श्रद्धाञ्जली सभामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आचार्यले थापाको बहुआयामिक व्यक्तित्व र अन्तर्राष्ट्रिय ख्यातिको चर्चा समेत गरे ।
हविंशले दिवंगत थापाले नेपाली कलाकारको पहिचानलाई बलिउड, हलिउड र नेटफ्लिक्सजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।
उनका फिल्महरू हेर्दा यो नेपाली मान्छे हो भनी गर्व गर्ने अवसर मिलेको स्मरण गर्दै आचार्यले उनको अन्तर्राष्ट्रिय छापको उच्च प्रशंसा गरे । अभिनय यात्रा शुरु गर्नुअघि थापा भारतको राष्ट्रियस्तरको फुटबल खेलाडी भएको तथ्यलाई समेत आचार्यले उजागर गरे ।
उनले थापाको अभावमा भारतीय मित्रहरूबीच ‘सुनिल थापा हाम्रो मान्छे हो’ भनेर गर्वका साथ परिचय दिने गौरवपूर्ण क्षणहरू अब इतिहास बनेको बताए ।
उनले भने, ‘नेपालको प्रतिनिधित्व गरेर संसारभर नै नेपालको आर्टिस्टको छाप छोड्नुभएको थियो । उहाँ नेपालमा मात्र होइन बलिउडमा इभन हलिउडका साथै नेटफ्लिक्सहरूमा उहाँको सिनेमाहरू हेर्दाखेरि यो नेपालको मान्छे हो भनेर गर्व गर्ने ठाउँ थियो हाम्रो । र उहाँ कलाकार हुनुभन्दा अगाडि एउटा असाध्यै राम्रो फुटबल प्लेयर पनि हुनुहुन्थ्यो । उहाँ इन्डियाको नेशनल प्लेयर फुटबलर पनि हो । र सम्पूर्ण क्षेत्रमा ठुलो क्षति भएको छ । र हामीले सुनिल थापा हाम्रो मान्छे भनेर भारतीय मित्रहरूलाई भेट्दाखेरि पनि हामीले भन्ने अवसर पाउँथ्यौँ । त्यो सबै अब इतिहास भयो नेपाली चलचित्रको लागि। र मैले उहाँसँग दुई वटा चलचित्रमा सँगै काम गर्ने अवसर पाएको थिएँ । एउटा तँ त साह्रै बिग्रिस नि बद्री, अर्को जे भो राम्रै भो । र उहाँले हाम्रो चलचित्रमा काम गरिदिएर हाम्रो चलचित्रलाई नै एउटा राम्रो चलचित्र बनाउन ठूलो योगदान दिनुभयो । र कहिले पनि कुनैपनि मान्छेलाई कहिले पनि दुःख नदिने प्रवृत्तिको मान्छे हुनुहुन्थ्यो उहाँ ।’
आचार्यले आफूले थापासँग ‘तँ त साह्रै बिग्रिस नि बद्री’ र ‘जे भो राम्रै भो’ जस्ता लोकप्रिय चलचित्रमा सँगै काम गर्ने अवसर पाएको उल्लेख गरे । थापाको उत्कृष्ट अभिनय र सहयोगले ती चलचित्रहरूलाई सफल बनाउन ठूलो योगदान पुर्याएको र उहाँ कहिल्यै कसैलाई दुःख नदिने अत्यन्तै सरल र भद्र स्वभावको व्यक्ति भएको आचार्यले स्मरण गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया