स्वास्थ्य बीमालाई ‘राष्ट्रिय गौरवको आयोजना’ बनाउने कांग्रेस सभापति थापाको घोषणा, यस्तो छ ५ वर्षे खाका

लोकपथ
294
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘स्वास्थ्य परोपकार होइन, सुरक्षा हो’ भन्ने मान्यताका साथ स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने घोषणा गरेका छन् । उनले कांग्रेसको चुनावी घोषणापत्रमा स्वास्थ्य बीमालाई व्यवस्थित बनाउने विस्तृत योजना समेटिने पनि जानकारी दिएका छन् । 

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका कांग्रेस सभापति थापाले आज आइतबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सो घोषणा गरेका हुन् । नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवारसमेत रहेका थापाले अबको सरकारले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राख्ने पनि बताएका छन् । 

आफ्नै कार्यकालमा स्वास्थ्य बीमा ऐन बनेको र कार्यक्रम सुरु भएको भए पनि पछिल्लो समय यो कार्यक्रम अस्तव्यस्त बनेकोमा उनले चिन्ता व्यक्त गरे । स्वास्थ्य मन्त्रालयमा रहँदा प्रदीप पौडेलले सुधारको प्रयास गरे पनि अहिले कार्यक्रम बन्द नै हुने हो कि भन्ने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै उनले भने, ‘यसलाई ट्र्याकमा ल्याउनु मेरो पहिलो प्राथमिकता हुने छ ।’ 

थापाले स्वास्थ्य बीमा सुधारका लागि चारवटा मुख्य आधारस्तम्भ प्रस्तुत गरेका छन् । पहिलो आधारका रूपमा उनले ‘विश्वव्यापी पहुँच’ (युनिभर्सल कभरेज) लाई लिएका छन् । अनौपचारिक क्षेत्रलाई समेट्दै प्रत्येक नेपालीको अनिवार्य बीमा गरिने र प्रिमियम तिर्न नसक्ने अति विपन्न, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिको जिम्मा राज्यले लिने उनले बताए । यसका लागि रक्सी, चुरोटजस्ता वस्तुमा विशेष कर लगाएर सो रकम सिधै स्वास्थ्य बीमा कोषमा जाने व्यवस्था मिलाइने उनको योजना छ ।

दोस्रो सुधारका रूपमा उनले स्वास्थ्य र सामाजिक सुरक्षाका छरिएर रहेका कार्यक्रमलाई एकीकरण गर्ने बताए । तेस्रो, संघीयता अनुरूप तीनै तहका सरकार र निजी क्षेत्रको भूमिका स्पष्ट पार्दै स्वास्थ्य प्रणालीलाई सुदृढ गरिनेछ । 

चौथो तथा महत्वपूर्ण पक्षका रूपमा सुशासनलाई जोड दिँदै उनले डिजिटल प्रणालीमार्फत दाबी भुक्तानीलाई छिटो र पारदर्शी बनाउने, दोहोरोपन हटाउने र बोर्डलाई शक्तिशाली बनाउने योजना अघि सारेका छन् ।

थापाले आगामी ५ वर्षभित्र स्वास्थ्य बीमालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने चरणबद्ध योजना समेत सार्वजनिक गरेका छन् । उनका अनुसार सरकार बनेको पहिलो चरणमा अहिलेको अस्तव्यस्तता हटाइनेछ भने दोस्रो चरणमा बीमाको दायरा बढाइनेछ । 

तेस्रो चरण अर्थात् पाँचौँ वर्षसम्म पुग्दा निश्चित नकारात्मक सूचीबाहेक सबै उपचार खर्च बीमाले बेहोर्ने अवस्था सिर्जना गरिनेछ । यसो हुन सकेमा कुनै पनि नागरिकले पैसाको अभावमा उपचार नपाउने वा उपचारकै कारण घरखेत बेच्नुपर्ने बाध्यता सदाका लागि अन्त्य हुने उनको जिकिर छ । 

थापाले भनेका छन्, ‘उपचारका लागि नागरिकले घरखेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्न कांग्रेसले स्पष्ट खाका तयार पारेको छ । म स्वास्थ्यमन्त्री रहेका बेला देखेको पीडादायी अवस्थालाई स्मरण गर्दै अहिलेको स्वास्थ्य प्रणालीमा आमूल सुधारको आवश्यकता देखेको छु ।’

उनले धेरै नागरिकले पैसा नभएकै कारण बिचमै उपचार छाड्नुपरेको र गरिबीबाट बल्लतल्ल माथि उठेको परिवार कडा रोग लाग्दा पुनः गरिबीमै भासिने अवस्था रहेको पनि बताए । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नागरिकले उपचारमा आफ्नो खल्तीबाट बढीमा २० प्रतिशत मात्र खर्च गर्नुपर्ने भए पनि नेपालमा यो दर ५७ प्रतिशतभन्दा माथि रहेको तथ्यांक उनले प्रस्तुत गरे । यो तथ्यांकले स्वास्थ्य क्षेत्रमा राज्यले आफ्नो भूमिका सही रूपमा निर्वाह गर्न नसकेको प्रस्ट हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?