मतदाताको गोपनीयता भङ्गप्रति जिल्ला निर्वाचन कार्यालय काठमाडौंको आपत्ति

लोकपथ
112
Shares

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यममार्फत मतदाताको गोपनीयता भङ्ग गर्ने काममा आपत्ति जनाएको छ । 

कार्यालयले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबैलाई ध्यानाकर्षण गराउँदै त्यस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।

निर्वाचन कार्यालयका अनुसार, निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम उल्लङ्घन भएको पाइएमा प्रचलित कानुन अनुसार कारबाही हुने व्यवस्था छ ।

निर्वाचन आचारसंहिता अनुसार, उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मतदान हुने दिनभन्दा १७ दिनअगावै मात्र प्रचारप्रसार गर्न सकिन्छ । यसमा जुलुस, आमसभा, कोणसभा, सञ्चारमाध्यममा प्रचार सामग्री प्रकाशन वा प्रसारण, र घरदैलो कार्यक्रम गर्न पाइन्छ ।

निर्वाचन कार्यालयको अनुसार कतिपय राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारले निर्धारित समयभन्दा अघि प्रचारप्रसार, कोणसभा, घरदैलो कार्यक्रम सञ्चालन गर्ने कार्य गरिरहेका छन् । यसप्रति ध्यानाकर्षण गराउँदै कार्यालयले त्यस्तो गतिविधि नगर्न अनुरोध गरेको छ ।

आचारसंहिता उल्लङ्घनको प्रमाण भेटिएमा तत्काल कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने पनि निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरू मुक्तिराम रिजाल, शिवराम भट्टराई, रोमाकान्त काफ्ले, मुनकुमार केसी, सुनिता सुवेदी र रुक्मागत अर्यालले संयुक्त रूपमा यसबारे चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?