काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शंकास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन् ।
विस्फोटबाट स्थानीय साजन आले मगरका ११ वर्षीय छोरा साहस, मनोज थापा मगरका ९ वर्षीय छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षीय छोरा कविर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज घाइते भएका हुन् ।
प्रहरीका अनुसार, वनभोज खान गएका बालकहरूले खोलामा भेटिएको रकेट जस्तो देखिने वस्तुलाई खेलौना ठानी दाउरासँगै जम्मा गरी चुल्हो नजिक राखेका थिए । त्यस क्रममा उक्त वस्तु अचानक विस्फोट भएको थियो ।
घाइते चारै जनालाई प्रारम्भिक उपचारका लागि मधेस प्रदेश प्रहरी अस्पताल रुपनी लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले लोकपथलाई जानकारी दिए ।
पुरीका अनुसार, घटनामा प्रयोग भएको शंकास्पद वस्तु र विस्फोटको कारणबारे थप अनुसन्धान भइरहेको छ । घटनास्थलमा प्रहरीले पुगेर अनुसन्धान सुरु गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया