रास्वपा उपसभापति अर्याललाई अवसर, एमालेलाई साख जोगाउने चुनौती

२०७९ मा समानुपातिकमा पहिलो रास्वपा यस पटक के होला ?

लोकपथ
518
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा हाई प्रोफाइल व्यक्तिदेखि स्थानीय स्तरमा लोकप्रिय नेताहरू चुनावी मैदानमा उत्रिएका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठ करिब १ हजार मतान्तरले विजयी भएकामा यस पटक पनि एमालेकै उम्मेदवार विजयी होलान् या अन्य दलले बाजी मार्ला भन्ने चर्चा बढ्न थालेको छ ।

चर्चा यस कारण पनि बढी छ कि यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीमा उपसभापति रही यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका डोल प्रसाद अर्यालसमेत प्रतिस्पर्धामा छन् । त्यसबाहेक स्थानीय स्तरमा लोकप्रिय रहेकी कांग्रेसकी नानुमैया बास्तोला र एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र रहेका डा. अजय क्रान्ति शाक्य पनि प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा चर्चित र लोकप्रिय रहेका नेपाल कम्युनिस्ट पार्टी माओवादीका माइला लामासमेत यस पटक प्रतिस्पर्धामा आएका छन् ।

अन्य प्रतिस्पर्धीहरुमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट राधाकृष्ण महर्जन, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट माइला लामा, राप्रपाबाट दिल कुमार कार्की, राष्ट्रिय जनमोर्चाबाट रोशन दानी लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् । काठमाडौं ९ बाट यस पटक ६ जना स्वतन्त्रसहित कुल २४ जना प्रतिस्पर्धामा छन् ।

२०७९ को निर्वाचनमा कसले कति मत ल्याए ?
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कुल ७२ हजार १७३ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा कुल ४२ हजार ९८५ सदर मत खसेको थियो । यसलाई प्रतिशतमा हेर्दा कुल मतदाताको झन्डै ६० प्रतिशत मत खसेको थियो ।

2079 Direct Election Results — Kathmandu-9 (FPTP)

First-Past-The-Post results with candidates

Direct Election Results (FPTP)

Total votes cast: 42,985
Data source: provided dataset for Kathmandu-9 (2079). Chart generated with Chart.js.

कुल ४२ हजार ९८५ मत खस्दा एमालेका कृष्णगोपाल श्रेष्ठले ११ हजार ९५६ मत पाएर विजयी भएका थिए । उनलाई पछ्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेलले १० हजार ९६१ मत पाएका थिए । उक्त क्षेत्रमा नेपाली कांग्रेसले माओवादी केन्द्रलाई समर्थन गरेको कारण कांग्रेसको उम्मेदवार थिएन । माओवादी केन्द्रबाट उम्मेदवार बनेकी कल्पना धमलाले दोस्रो भन्दा निकै तल अर्थात् ६ हजार ४०२ मत मात्रै प्राप्त गरेकी थिइन् । उक्त क्षेत्रमा राप्रपाका देवेन्द्र प्रधानले ४ हजार ७८५ मत र साझा पार्टीका मिलन पाण्डेले २ हजार ३२७ मत प्राप्त गरेका थिए । बाँकी मत भने अन्य उम्मेदवारहरूको पक्षमा गएको थियो । २०७९ को निर्वाचनमा विजयी भएका कृष्णगोपाल श्रेष्ठले प्रत्यक्षतर्फ खसेको कुल सदर मतको २८ दशमलव १२ प्रतिशत मत ल्याएर विजयी भएका थिए ।

२०७९ को निर्वाचनमा समानुपातिकमा रास्वपा पहिलो, अन्यको के थियो अवस्था ?
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलहरू गठबन्धन गरी निर्वाचनमा गएको कारण पनि राजनीतिक दलहरूको वास्तविक हैसियत प्रत्यक्षतर्फको गणनाले पुष्टि गर्न सक्दैन । यसका लागि समानुपातिकतर्फको मत विश्लेषण गर्नु जायज हुन्छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९ मा कुल ४२ हजार ९८५ समानुपातिक मत खसेको थियो । यो कुल मतदाताको करिब ६० प्रतिशत मत हो । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ११ हजार ५०२ मत प्राप्त गरेको थियो, जुन सदर समानुपातिक मतको २६ दशमलव ७५ प्रतिशत हो ।

2079 Proportional Representation Results — Kathmandu-9 (PR)

Party-wise proportional vote distribution

Proportional Representation Results (PR)

Total PR votes recorded: 42,985
Data source: provided dataset for Kathmandu-9 (2079). Chart generated with Chart.js.

दोस्रोमा रहेको नेकपा एमालेले ९ हजार ४०७ मत प्राप्त गरेको थियो, जुन २१ दशमलव ८८ प्रतिशत हो भने तेस्रोमा नेपाली कांग्रेसले ८ हजार ५ मत प्राप्त गरेको थियो । प्रतिशतका हिसाबमा यो १८ दशमलव ६२ प्रतिशत हो भने चौथोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार १२८ मत प्राप्त गरेको थियो जुन १४ प्रतिशतभन्दा बढी हो ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्राप्त भएको समानुपातिकतर्फको पपुलर मतलाई हेर्दा काठमाडौं क्षेत्र नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी बलियो पार्टीका रूपमा हेर्न सकिन्छ । त्यसबाहेक नेकपा एमाले पनि खासै कमजोर नरहेको उक्त क्षेत्रमा कांग्रेस पनि टक्कर दिन सक्ने राजनीतिक दल हो ।

यता नेकपा माओवादीका तर्फबाट उम्मेदवार बनेका माइला लामा माओवादी आन्दोलनका कलाकार, घाइतेसमेत रहेको र उक्त क्षेत्रमा चर्चित व्यक्ति रहेकाले उनी पनि प्रतिस्पर्धामा अगाडि आउन सक्ने व्यक्ति हुन् ।

२०८२ मा कस्तो छ अवस्था ?

२०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ९ मा कुल ७८ हजार ४९५ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा खसेको मतको प्रतिशतलाई आधार मानी ६० प्रतिशत मत खस्न सक्छ भन्ने आकलन गर्ने हो भने यस पटक करिब ४७ हजार १०० मत खस्ने अनुमान गर्न सकिन्छ । यही अनुमानलाई आधार मान्दा यस पटक राजनीतिक दलहरूबिच औपचारिक गठबन्धन नभएको कारण मत विभाजन हुने भएकाले कुल खसेको मतको ३० प्रतिशत मत ल्याउने उम्मेदवारले निर्वाचनमा जित्ने आकलन गरिएको छ । यस्तो अवस्थामा जुन मतदाताले ३० प्रतिशत वा यसकै आसपासमा मत ल्याउँछ, ती उम्मेदवार विजयी हुन सक्छन् ।

कति मत ल्याउने उम्मेदवार विजयी होलान् ?
७८ हजार ४९५ कुल मतदाता रहँदा करिब ६० प्रतिशत मत खस्ने अनुमान गर्दा ४७ हजार १ सय मत खस्न सक्छ । यसको ३० प्रतिशत मत ल्याउने उम्मेदवार विजयी हुने आकलन गर्ने हो भने करिब १४ हजार १२९ वा सोही आसपासमा मत ल्याउने उम्मेदवार विजयी हुने सम्भावना देखिन्छ ।

कुन उम्मेदवार कति बलियो ?
काडमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल सबैभन्दा शक्तिशाली उम्मेदवार हुन् । पार्टीमा उपसभापति पदमा रहेर काम गरिरहेको, यसअघि दोस्रो वरियतामा रहेको र पहिलो कार्यकालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरिसकेका कारण यस क्षेत्रमा उनको सम्भावना सबैभन्दा बलियो देखिन्छ ।
अघिल्लो निर्वाचनमा समेत रास्वपा पहिलो पार्टी बनेको, यस निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारी पार्टीमा प्रवेश गराएको र देशव्यापीरुपमा रास्वपाको लहर देखिएको कारण पनि अर्याल यस क्षेत्रमा सबैभन्दा शक्तिशाली उम्मेदवार हुन् ।

लामो समय जापानमा रोजगारी गरी नेपाल फर्किएर रेमिटेन्स, ट्राभल, पार्टी प्यालेस आदि व्यापारमा जोडिएका उनी माथिल्लो तहका नेता भएको कारणले क्षेत्रको विकासमा समेत प्रभाव पार्न सक्ने भएकाले सबैभन्दा बलियो उम्मेदवारका रूपमा देखिएका छन् ।

अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित भएका कृष्णगोपाल श्रेष्ठले यसपटकट टिकट नै पाएनन् । यसअघि प्रदेशसभा सदस्य रहेका डा. अजय क्रान्ति शाक्य भौतिक शास्त्रमा विद्यावारिधि गरिसकेका व्यक्ति भएकाले विद्वान् व्यक्तिका रूपमा चिनिन्छन् । तर भूगोल अर्थात् क्षेत्रगत हिसाबमा उनी त्यति नभिझेकाले कृष्णगोपाल श्रेष्ठ जत्तिकै हैसियत राख्ने प्रतिस्पर्धी नभएको स्वयं त्यस क्षेत्रका एमालेका नेता तथा कार्यकर्ताको भनाई छ ।

यता नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी नानुमैया बास्तोला स्थानीय नेता रहेको र जनतामाझ भिजेकी उम्मेदवार हुन् ।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसको आफ्नै चुनाव चिन्हमा भोटसमेत हाल्न नपाएका कांग्रेसका कार्यकर्ताहरू यस पटक केही उत्साहित भएपनि अघिल्लो पटकको समानुपातिक मतको विश्लेषण गर्दा कांग्रेस कमजोर नै देखिन्छ ।

यस क्षेत्रमा यसअघि राप्रपाले सम्मानजनक मत पाएको थियो । यस पटक राप्रपाले दिल कुमार कार्कीलाई आफ्नो उम्मेदवार बनाएको छ । उनी पनि बलियो प्रतिस्पर्धीका रूपमा हेरिएका छन् ।

यसै क्षेत्रमा विप्लव नेतृत्वको माओवादीका माइला लामा समेत उम्मेदवार रहेका छन् । लामालाई यस क्षेत्रमा पार्टी र अन्य क्षेत्रबाट समेत पीडित व्यक्तिका रूपमा हेरिन्छन् र उनले सहानुभूतिको मत प्राप्त गर्न सक्ने प्रशस्त सम्भावना छ । काठमाडौं ९ मा तामाङ तथा लामा समुदायको पनि उल्लेख्य सङ्ख्या रहेकाले माइला लामाले समेत राम्रै मत ल्याउने आकलन गरिएको छ ।

कुन वडामा को बलियो ?
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा काठमाडौं महानगरपालिकाका १२, १४, २१ र २२ ज.नम्बर वडाहरू, नागार्जुन नगरपालिकाको ६, ७, ८, ९ र १० नम्बर वडाहरू र चन्द्रागिरि नगरपालिकाको १, २, १३, १४ र १५ नम्बर वडाहरू रहेका छन् ।
स्थानीय तहको निर्वाचन हेर्दा यी वडाहरूमध्ये कांग्रेस र एमालेका उम्मेदवार अधिकांश स्थानमा विजयी हुँदा एक स्थानमा माओवादीका उम्मेदवार विजयी भएका छन् ।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको वडा नम्बर १२ मा कांग्रेसका बालकृष्ण महर्जनले २ हजार २१७ मत ल्याएर विजयी हुँदा एमालेका विकाश डंगोल १ हजार ४८ मत ल्याएर दोस्रो भएका थिए ।

कामनपा १४ मा पनि कांग्रेसकै सुमन श्रेष्ठ ३ हजार ४४२ मत ल्याएर विजयी हुँदा एमालेका रश्मि खड्का ३ हजार ३४६ मत ल्याएर दोस्रो भएकी थिइन् । उक्त क्षेत्रमा राप्रपाका आनन्दप्रसाद श्रेष्ठले १ हजार १८२ मत पाएका थिए ।

यता कामनपा २१ र २२ मा भने एमालेका उम्मेदवार विजयी भएका थिए । कामनपा २१ मा एमालेका उदय चूडामणि बज्राचार्य २ हजार १ मत पाएर विजयी हुँदा कांग्रेसका मधुसूदन प्रधानले १ हजार ५१३ मत ल्याएका थिए । त्यसै गरी कामनपा २२ मा एमालेका चिनीकाजी महर्जन २ हजार ६० मत ल्याएर विजयी हुँदा कांग्रेसका शालिग्राम तण्डुकारले १ हजार ४७८ मत पाएका थिए ।

काठमाडौं ९ मै पर्ने नागार्जुन नगरपालिकाको वडा नम्बर ६ मा कांग्रेसका देवेन्द्रराज गिरी १ हजार ३५० मत ल्याएर विजयी भए भने एमालेका पुरुषोत्तम खनाल १ हजार २८४ मत पाए । नागार्जुन ७ मा एमालेका शैलेन्द्र लामा १ हजार ३०७ मत ल्याई विजयी हुँदा कांग्रेसका विश्वकर लामाले १ हजार १२६ मत पाए । नागार्जुन ८ मा एमालेका सुरज कुमार पोखरेलले १ हजार ९ मत पाएर विजयी हुँदा कांग्रेसका शुक्र बहादुर तामाङले ९३४ मत पाए ।

वडा नम्बर ९ मा कांग्रेसका रामकृष्ण भट्टराई ७४३ ल्याएर विजयी भए भने एमालेको लव कुमार केसीले ५५९ मत पाए । वडा नम्बर १० मा पनि कांग्रेसका सुन्दर बहादुर केसी ९८२ मत पाएर विजयी हुँदा एमालेका राजु केसीले ५६१ मत ल्याए ।

यता चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १ मा कांग्रेसका हरिश्याम राना मगरले १ हजार १२१ मत ल्याउँदा एमालेका राजेन्द्र केसीले १ हजार ५७ मत पाए । त्यहाँ माओवादीले कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको थियो । यता चन्द्रागिरि २ मा भने माओवादीका भाइकृष्ण तामाङ ९४९ मत पाएर विजयी हुँदा कांग्रेसका अर्जुन बहादुर तामाङ ७२५ ल्याएर दोस्रो भएका थिए ।

१३ नम्बर वडामा कांग्रेसका श्रीकृष्ण खत्री १ हजार २४५ मत ल्याएर विजयी हुँदा एमालेका बालमुकुन्द विडारीले १ हजार ५६ मत ल्याए । वडा नम्बर १४ मा एमालेका राजाभाइ महर्जन १ हजार ४५० मत ल्याएर विजयी भए भने कांग्रेसका किरण कार्कीले १ हजार २८८ मत पाए । वडा नम्बर १५ मा कांग्रेसका घनश्याम लुइँटेल १ हजार ३६३ मत ल्याएर विजयी बने भने उनलाई एमालेका इन्द्र महर्जनले १ हजार २७३ मतका साथ पछ्याएका थिए ।

स्थानीयको रोजाइमा ‘नयाँ दल’
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा यसपटक स्थानीय मतदाताहरू एक पटकका लागि नयाँ दललाई हेरौँ भनिरहेका छन् । समानुपातिकतर्फ नयाँ राजनीतिक दललाई भोट हाल्ने अधिकांशको मतदाताको भनाई छ । प्रत्यक्षतर्फ भने कुन उम्मेदवार योग्य छ र कुन उम्मेदवारले आफ्नो क्षेत्रका लागि काम गर्न सक्छ, त्यही उम्मेदवारलाई भोट दिने बताइरहेका छन् ।

स्थानीय मतदातालाई देशको राजनीतिसँगै स्थानीय स्तरमा हुने विकास निर्माण र भौतिक पूर्वाधारको विकासले फरक पार्ने भएकाले मतदाताहरू जसले आफ्नो क्षेत्रमा विकास गर्न सक्छ, त्यही उम्मेदवारलाई मत दिने बताइरहेका छन् ।

अर्याल र बास्तोलाबिच नै प्रतिस्पर्धा !
काठमाडौं क्षेत्र नम्बर ९ का स्थानीय मतदाताहरू यसपटक रास्वपाका डोलप्रसाद अर्याल (डीपी) र कांग्रेसका नानुमैया बास्तोलाबिच मै मुख्य प्रतिस्पर्धा हुने बताउँछन् । काठमाडौं ९ रामकोटका एक मतदाता भन्छन्, ‘अघिल्लो पटक कृष्णगोपालले जिते पनि यसपटक उनीभन्दा कमजोर उम्मेदवार उठाएको कारण एमाले तेस्रो पार्टी बन्छ । पहिलो र दोस्रो पार्टीमा भने रास्वपा र कांग्रेसबिच नै प्रतिस्पर्धा हुने हो ।’

रामकोट क्षेत्रकै एक वृद्ध मतदाताले नयाँ पार्टीलाई भोट दिन खोजेको तर उम्मेदवार स्थानीय नभएको भन्दै के गर्ने अन्योलमा रहेको बताइन् । उनी भन्छिन्, ‘नातिले नयाँ पार्टीलाई भोट दिनु भनेको छ, तर नयाँ पार्टीको मान्छे यहाँको हैन भन्ने सुनेको छु, के गर्ने भनेर घरमा सल्लाह गर्दै छौँ ।’

काठमाडौं क्षेत्र नम्बर ९ मा यसपटक मुख्य प्रतिस्पर्धा रास्वपा र कांग्रेसबिच नै हुने स्थानीय मतदाताको आकलन छ । तर यस क्षेत्रमा एमाले, राप्रपा र माओवादीका माईला लामासमेत मत तान्न सक्ने प्रतिस्पर्धी भएकाले अहिले नै आकलन गर्न भने कठिन छ । यद्यपि निर्वाचनको मिति नजिकिँदै जाँदा कुन उम्मेदवारले कस्तो माहौल तयार पार्छन्, त्यही अनुसार नै उम्मेदवार विजयी बन्ने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?