बालेनलाई उदय शमशेरले भने– ‘फेसबुकको भित्ताबाट बाहिर निस्किएर टुँडिखेलमा नीतिगत बहस गरौँ’

लोकपथ
119
Shares

 काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार उदय शमशेर राणाले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको घोषणा गर्दै उनकै नाममा भोट माग्न पार्टी कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

ललितपुरमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै राणाले यो निर्वाचन व्यक्तिगत उम्मेदवार जित्ने मात्र नभई गगन थापालाई प्रधानमन्त्री बनाउँदै देशमा परिवर्तन ल्याउने निर्णायक चुनाव भएको बताए । 

उनले अब कांग्रेसका उम्मेदवारहरूले ‘अबको सरकार गगन थापाको सरकार’ भन्ने स्पष्ट एजेन्डाका साथ जनतामाझ जानुपर्ने धारणा राखे ।

सहमहामन्त्री राणाले प्रधानमन्त्रीका उम्मेदवारहरूबीच राष्ट्रिय बहस हुनुपर्नेमा जोड दिँदै सामाजिक सञ्जालमा मात्र सीमित नभई सार्वजनिक स्थलमा आएर नीति र कार्यक्रमबारे खुला बहस गर्न अन्य नेताहरूलाई चुनौती दिए । उनले अर्थतन्त्र, परराष्ट्र नीति, कृषि, पर्यटन र जलस्रोतजस्ता विषयमा टुँडिखेलजस्ता खुला मञ्चमा बहस हुनुपर्ने बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै आफूहरूलाई नयाँ शक्ति भन्ने दाबी असत्य भएको टिप्पणी गरे । रास्वपा दुई पटक सरकारमा सहभागी भइसकेको र त्यसका सभापति रवि लामिछाने दुई पटक गृहमन्त्री बनिसकेको उल्लेख गर्दै ‘उनीहरू कसरी नयाँ भए ?’ भन्ने प्रश्न उठाए । राणाले रवि लामिछानेमाथि लागेका कानुनी विवादको उल्लेख गर्दै विवादित नेतृत्वबाट देशमा परिवर्तन सम्भव नहुने ठोकुवा गरे ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय बहसका लागि तयार रहेको अभिव्यक्ति दिएको स्मरण गराउँदै राणाले वर्तमान युवा उम्मेदवारहरू किन यस्तो बहसबाट पन्छिरहेका छन् भन्ने प्रश्न पनि उठाए । ‘फेसबुकबाट मात्र देश चल्दैन, जनताको बिचमा आएर नीति र दृष्टिकोण राख्नुपर्छ,’ उनले भने ।

‘जेनजी आन्दोलन’ पछि नेपाली कांग्रेस आफूभित्रै परिवर्तन भएको दाबी गर्दै राणाले पार्टीभित्र आन्तरिक लोकतन्त्र मजबुत हुँदै गएको र नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढेको बताए । उनका अनुसार नेपाली कांग्रेस अब सबैभन्दा पुरानो मात्र नभई सबैभन्दा नयाँ र नवीन सोच बोकेको पार्टी बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?