काठमाडौं । सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ ।
मोरङको विराटचोकमा शुक्रबार दिउँसो नेपाल–भारत सीमा सुरक्षा सम्बन्धी बैठक चलिरहेकै बेला उनी अचानक बेहोस भई ढलेका थिए ।
घटनापछि उनलाई तुरुन्तै उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा शुक्रबार राति चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
अस्पताल स्रोतका अनुसार उच्च रक्तचापका कारण उनी बेहोस भएका थिए । ढल्ने क्रममा उनको जिब्रो काटिएको थियो र अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
हाल मोरङमा कार्यरत एसपी घिमिरेको सरुवा नम्बर ३ वाहिनी गढीमाई मुख्यालय मकवानपुरमा भइसकेको थियो । उनी शनिबार नयाँ कार्यक्षेत्रमा जाने तयारीमा थिए । तर, मोरङबाट बिदा हुनु अघि नै उनको असामयिक निधन भएको हो ।
उनको शव हाल अस्पतालको आकस्मिक कक्षमा राखिएको छ । परिवारका सदस्यलाई घटनाबारे जानकारी गराइसकिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया