काठमाडौं । निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वसनीय हुनुपर्नेमा जोड दिएकी छन् ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि छनोट भएका निर्वाचन पर्यवेक्षकहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले निर्वाचन आयोगसँग सहकार्य गर्दै पर्यवेक्षण गर्ने राष्ट्रिय संस्थाहरूको भूमिका अत्यन्तै महत्वपूर्ण र सह्रानीय रहेको बताइन् ।
उनले निर्वाचन पर्यवेक्षणका क्रममा प्रचलित कानुन, नियम, निर्देशिका तथा निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिँदै पर्यवेक्षकहरू कुनै पनि राजनीतिक दल, उम्मेदवार वा सरोकारवाला पक्षको प्रभाव, आग्रह वा दबाबमा नपरी तटस्थ र निष्पक्ष रहनुपर्नेमा विशेष जोड दिइन् ।
आयुक्त तुलाधरले व्यक्तिगत धारणा, पूर्वाग्रह वा अनुमानका आधारमा निष्कर्ष निकाल्नु नहुने स्पष्ट पार्दै तथ्यमा आधारित भएर मात्र पर्यवेक्षण र अवलोकन गर्न आग्रह गरिन् । अपुष्ट, अपूर्ण वा भ्रामक सूचना सार्वजनिक हुँदा निर्वाचनको विश्वसनीयतामा गम्भीर असर पर्न सक्ने भन्दै उनले सञ्चार र सूचना प्रवाहमा उच्च सतर्कता अपनाउन पर्यवेक्षकहरूलाई सचेत गराइन् ।
उनका अनुसार निर्वाचन केवल मतदान गर्ने प्रक्रिया मात्र नभई जनतामा निहित सार्वभौम सत्ताको प्रयोग गर्ने महत्वपूर्ण माध्यम हो । यस प्रक्रियामा आम जनताको विश्वास कायम राख्न निष्पक्ष, वस्तुनिष्ठ र जिम्मेवार पर्यवेक्षण आवश्यक रहेको उनले बताइन् ।
निर्वाचन आयोगले पर्यवेक्षकहरूलाई केवल अवलोकनकर्ताका रूपमा मात्र नभई लोकतन्त्र सुदृढीकरणका महत्वपूर्ण साझेदारका रूपमा लिएको उल्लेख गर्दै आयुक्त तुलाधरले निर्वाचन प्रक्रियालाई अझ पारदर्शी र जनउत्तरदायी बनाउन उच्च नैतिकता र व्यावसायिक आचरणका साथ आफ्नो भूमिका निर्वाह गर्न सबैलाई आह्वान गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया