रौतहट घटनाबारे रास्वपाले भन्यो– ‘छानबिनका लागि प्रशासनलाई सघाउँछौँ’

लोकपथ
294
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहटमा चुनावी अभियानका क्रममा गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

बिहीबार रास्वपाको उम्मेदवारले प्रयोग गरेको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिका आलसा खातुनको ज्यान गएको थियो ।

रौतहट क्षेत्र नं २ का रास्वपा उम्मेदवार सगिर आलम सवार गाडीले ठक्कर दिँदा बालिकाको घटनास्थलमै ज्यान जाँदा चौतर्फी आलोचना भएपछि रास्वपा बोलेको हो ।

पार्टीले उक्त घटनालाई गम्भीरताका साथ लिएको बताउँदै उक्त घटनाको छानबिनको लागि प्रशासनलाई सघाउने रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जनाएका छन् ।

‘पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ। घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौं। कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन। साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौँ,’ उनले भनेका छन् ।

त्यस्तै उनले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनको परिचालनमा उच्च सतर्कता अपनाउन समेत निर्देशन दिइएको छ ।

‘चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपंक्ति, उम्मेदवार र सवारी चालकहरूलाई कडा निर्देशन समेत जारी गर्दछौँ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?