स्वास्थ्य बीमाको भुक्तानीमा समस्या देखिए महानगरले व्यहोर्ने मेयर महर्जनको घोषणा

लोकपथ
364
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन भइरहेको स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिकाले आफैँले सो रकम तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए । उनले कथंकदाचित भुक्तानी नहुँदा सेवा बन्द गर्नुपर्ने अवस्था आए त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले नै वहन गर्नुपर्ने बताए ।

मेयर महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा भुक्तानीको जिम्मेवारी महानगरपालिकालाई सुम्पेमा महानगरले नै उक्त दायित्व पूरा गर्ने स्पष्ट पारे । ‘पाटन अस्पताललाई गर्नुपर्ने भुक्तानी समयमै गरिदिनु आवश्यक छ । कथंकदाचित नेपाल सरकारले ललितपुर महानगरपालिकाले नै भुक्तानी गरिदिनु भन्ने पत्र दिएमा म त्यो भुक्तानी गर्न तयार छु, ‘उनले भने।

यसैगरी, उनले पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए । सो केन्द्र निकट भविष्यमै सञ्चालनमा आउने र सञ्चालनपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानमार्फत नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने उनको भनाइ छ ।

मेयर महर्जनका अनुसार ललितपुर महानगरपालिका र पाटन अस्पतालबिचको सहकार्य मुलुकका ७५३ स्थानीय तहका लागि उदाहरणीय अभ्यास बनेको छ । उनले ७५२ पालिकामध्ये ललितपुर महानगरपालिका उदाहरणीय पालिका बन्न सफल भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?