स्ष्पटीकरण सोधिएका उम्मेदवारलाई के हुन्छ कारबाही ? यस्तो छ आयोगको तयारी

लोकपथ
0
Shares

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीहरुमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन् ।

बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी यस्तो बताएका हुन् ।

उनले केही उम्मेदवारविरुद्ध आचारसंहिता उल्लङ्घनको उजुरी आयोगमा परेको उल्लेख गर्दै उजुरीउपर आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको बताए ।

उम्मेदवारहरुले स्पष्टीकरण बुझाउने कार्य जारी रहेको भन्दै उनले प्राप्त उजुरीको अध्ययनपछि आयोगले आवश्यक निर्णय लिने बताए ।

उनले भने, ‘आचारसंहिता हामीले कडाईका साथ लागु गरेका छौँ । त्यसको पालना भयो कि भएन भनेर हामी अनुगमन पनि गरिरहेका छौँ । केही उम्मेदवारहरुविरुद्ध उजुरी पनि आएको छ । हामीले उहाँहरुलाई स्पष्टीकरण समेत सोधेका छौँ । केहीले स्पष्टीकरण पठाउनुभएको छ । र केही आउने क्रममा छन् । स्पष्टीकरण आइसकेपछि त्यसको अध्ययनको आधारमा आवश्यक निर्णय गर्छौँ । निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ । सञ्चारमाध्यमहरुले समेत पक्ष र विपक्षभन्दा पनि निष्पक्ष सामग्रि बनाइदिन आग्रह गर्न चाहान्छु । तोकिएको मिति र समयमै निर्वाचन हुन्छ ।’

अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाई कार्य जारी छ ।

हालसम्म ७२ लाख ६० हजार मतपत्र छपाई भई ५ हजार ८ सय २५ बाकस प्याकिङ्ग भइसकेको आयोगले जानकारी दिएको छ ।

जम्मा २ करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्ने बताइएको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि आवश्यक २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ कार्य सम्पन्न ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?