काठमाडौं । जिन्सको पाइन्ट, एउटा सामान्य जुत्ता, पछाडि कालो ब्याग, टोपी र मास्क लगाउने एक सामान्य मानिस । बाटोमा लुखुरलुखुर हिँड्ने उनलाई देख्दा लाग्थ्यो, उनी सामान्य गरिब परिवारका सदस्य हुन् र उपचारका लागि काठमाडौं आएका छन् ।
तर वास्तविकता त्यो भन्दा निकै पर छ । काठमाडौंमा पछिल्लो समय भएका ठुला ठुला चोरीका घटनामा संलग्न व्यक्ति हुन् उनी । गत मंसिर ३ गतेदेखि अन्तिम पटक माघ २० गते गरी यो अवधिमा उनले ९ स्थानमा चोरी गरिसकेका छन् । यी सबै चोरीमा उनको संलग्नता करिब करिब पुष्टि भएको छ र यी चोरीहरूमा ८८ तोलाभन्दा बढी सुन, १ किलोभन्दा बढी चाँदी, नगद, अमेरिकी डलर लगायतका रकम चोरी भएका छन् । यी स्थानहरूको चोरी यिनै लुखुरे व्यक्तिको संलग्नता करिब करिब पुष्टि भइसकेको छ ।

हो, ती चोर हुन्, बाँकेको नेपालगन्ज उप महानगरपालिका वडा नम्बर ३ स्थायी ठेगाना भएका सुप्रिम, विकाश, सौरभ चौधरी आदि उपनामका प्रेम थारु । यिनै थारुलाई बुधबार राति जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली हानेर पक्राउ गरेको छ ।
‘चोर’को खोजतलास गर्दै जाँदा फेला परेका थारुले प्रहरी वृत्त स्वयम्भूका कार्यरत प्रहरी वरिष्ठ हवलदार प्रेम बहादुर बराममाथि नै आक्रमण गरी घाइते बनाएर भाग्न खोजेपछि प्रहरीले थारुमाथि गोली चलाएर नियन्त्रणमा लियो । त्यसपछि थारुको बाफलस्थित डेरा कोठामा खानतलासी गर्दा करिब ६६ तोला सुनका गरगहना, एक किलोभन्दा बढी चाँदी, केही नगद र अमेरिकी डलरसमेत बरामद गरेको छ ।
थारु पेसेवर चोर, एक्लै गर्थे चोरी
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली हानेर नियन्त्रणमा लिएका थारु पेसेवर चोर रहेको खुलेको छ । उनी यसअगाडि नै चोरीको कसुरमा पक्राउ परी ३ वर्षको कैद सजाय सुनाइएका व्यक्तिसमेत हुन् । प्रहरी वृत्त बौद्धको क्षेत्रमा चोरी गरेको कसुरमा थारु यसअघि नै पक्राउ परेका थिए । त्यतिबेला उनी सौरभ चौधरीको नामबाट पक्राउ परेका थिए । उनको साथबाट सौरभ चौधरीको नागरिकता बरामद भएको थियो र उनले आफूलाई सुप्रिम, विकाश चौधरी आदि नामबाट चिनाउने गरेका थिए । त्यतिबेला मुद्दा चल्दा सौरभ चौधरीको नामबाट पर्साको वीरगन्ज महानगरपालिका ९ स्थायी ठेगाना भनी मुद्दा चलाइएको थियो । उक्त कसुरमा काठमाडौं जिल्ला अदालतले थारुलाई ३ वर्षको कैद सजाय सुनाएको थियो ।

२०७९ मंसिर २८ गते पक्राउ परेका थारु ३ वर्षको कैद सजाय पूरा गर्दा २०८२ मंसिर २८ गते मात्रै छुट्नुपर्ने थियो । तर चालचलन राम्रो भएको लगायतका कारणबाट उनी गत जेठ २५ गते नै प्यारोलमा थुनामुक्त भएको पाइएको छ ।
त्यसपछि केही समय शान्त देखिएका उनी त्यसपछि जेन जी आन्दोलनपछिको तरल अवस्थाको फाइदा उठाउँदै पुरानै पेसामा फर्किएको पाइएको छ ।
उनले मंसिर १ गतेदेखि आफ्नो चोरी पेसालाई पुनः सुरुवात गरेका थिए ।
एउटै हुलियामा चोरी गर्दै हिँड्थे थारु
बाँके नेपालगन्जका ३४ वर्षीय थारु प्रायजसो सधैँ एउटै हुलियामा चोरी गर्न हिँड्ने गर्दथे । खैरो जुत्ता, जिन्सको पाइन्ट, कालो, निलो वा हरियो वाइन्डसिटर, क्याप र मास्क लगाएर हिँड्ने उनी प्रायजसो सधैँ पछाडि एउटा कालो ब्याग बोक्ने गर्दथे ।

प्रहरीले चोरी भएका पाँच स्थानको सिसिटिभी फुटेजको अध्ययन गर्दा उनको हुलिया सधैँ एउटै नै छ । उनी सामान्य मानिसको रूपमा व्यक्तिको घरघरमा पुग्थे, पहिले घरको रेकी गर्दथे अनि कोही नभएको मौका पारेर चोरी गर्न जान्थे ।
थारुको चोरी गर्ने तरिकामा उनी साँझ वा बिहानको समयमा रेकी गर्ने र दिउँसो घरमा कोही नभएको मौका पारेर बढीमा आधा घण्टाभित्र चोरी गरेर निस्किसकेका हुन्थे ।
थारुको झोलामा विभिन्न किसिमका साँचो, रेञ्ची, मार्तोल लगायतका चोरी गर्नका लागि आवश्यक सामाग्रीहरू हुन्थे । पहिले उनी आफूसँग भएको साँचोबाट नै चोरी गर्नका लागि ढोका खोल्ने कोसिस गर्थे । उक्त साँचोले ढोका नखुलेमा उनी मार्तोल वा रेञ्चीको सहायताले ढोका फोर्थे, गरगहना राखिएको दराज वा सम्भावित स्थानमा पुग्थे अनि दराजको समेत ढोका फोरेर सम्पूर्ण सामान लिएर भाग्थे । घरबाट निस्कँदा पनि सामान्य व्यक्तिसरह नै उनी निस्कने गर्दथे ।
९ स्थानमा चोरी, ३ करोड ४९ लाख रुपैयाँ बराबरको धनमाल चोरिसकेका थिए
थारुले गत मंसिर ३ गतेदेखि माघ २२ गतेसम्मका अवधिमा काठमाडौं उपत्यकामा ९ स्थानमा चोरी गरेको पाइएको छ । उनले गत मंसिर ३ गते काठमाडौंको वनस्थलीमा पवित्रा तामाङ बस्ने स्थानबाट ४ हजार अमेरिकी डलर, युरो एक हजार डलर, ८५ हजार नेपाली रुपैयाँ, १५० अष्ट्रेलियन डलर र पौने ३ तोलाको सुनको गरगहना चोरी गरेका थिए । यसको कुल मूल्य अन्दाजी १६ लाख ७० हजार रुपैयाँ बराबरको चोरी गरेका थिए ।
त्यसपछि उनले पुस ३ गते ललितपुरको सानेपामा चोरी गरेको पाइएको छ । उनले सानेपास्थित मनिषकुमार सिंहको घरबाट नगद र गरगहना गरी कुल ३६ लाख ६४ हजार ३७५ रुपैयाँ बराबरको चोरी गरेका थिए ।

त्यसपछि पुसको २४ गते बौद्ध जोरपाटीमा तेन्जिङ डोल्मा नेपालीको घरमा चोरी गरी ५ लाख ६० हजार बराबरको सुनका गरगहना लगेका थिए ।
त्यसपछि पुस २८ गते काठमाडौंको मालिगाउँमा कृष्ण प्रसाद आचार्यको घरमा चोरी गरी सुनका गरगहना र नगद गरी कुल ३१ लाख ४० हजार बराबरको चोरी गरेका थिए ।
त्यस्तै थारुले माघको ५ गते काठमाडौं महानगरपालिका १३ स्थित सरफराज अख्तरको घरबाट करिब ९ लाख मूल्य बराबरको सुनको गरगहना चोरी गरेका थिए ।
थारुले माघको १३ गते फेरि काठमाडौं महानगरपालिका १४ स्थित भरत भट्टराईको घरबाट नगद र गरगहना गरी करिब १० लाख ५० हजार मूल्य बराबरको धनमा चोरी गरेका थिए ।

त्यसपछि फेरि माघको १७ गते काठमाडौं २६ भोटेबहालस्थित राम कुमार खड्काको वासस्थानबाट ७६ लाख बराबरको सुन र चाँदीका गरगहना र ९० हजार नगद गरी कुल ७६ लाख ९० हजार बराबरको धनमाल चोरी गरेको पाइएको छ ।
त्यसको भोलिपल्ट नै माघ १८ गते काठमाडौं १४ स्थित दीपक दाहालको घरबाट सुन तथा चाँदीका गरगहना र नगद गरी कुल ९ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।

थारुले फेरि माघ २० गते बौद्ध टुसालस्थित दाबा डोल्मा शेर्पाको घरबाट १ करोड १७ लाख रुपैयाँ बराबरको सुनको गरगहना चोरी गरेको पाइएको छ ।
गत मंसिर ३ गतेदेखि माघ २० गतेसम्मको अवधिमा थारुले ९ स्थानमा चोरी गर्दा उनले करिब ३ करोड १३ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको पाइएको छ ।
हुलिया खोज्दै सादा पोसाकका प्रहरी फिल्डमा
काठमाडौंमा दिउँसै सुनका गरगहनालाई टार्गेट गरेर चोरी गर्दै हिँड्ने व्यक्तिका बारेमा सामान्य हुलिया बाहिर आएको भएपनि चोरी गर्ने व्यक्ति को हुन् भन्ने यकिन थिएन । प्रहरीसँग रहेको सिसिटिभी फुटेजमा देखिने हुलिया मात्रै प्रहरीको एक मात्रै सूचना वा जानकारी थियो ।
त्यसपछि प्रहरी विभिन्न स्थानको सिसिटिभी फुटेज केलाउँदै सम्भावित स्थानसम्म पुग्न सक्यो । यी चोरको अन्तिम दृश्य बाफल क्षेत्रमा देखा पर्यो ।
त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंका सादा पोसाकका प्रहरी कर्मचारीहरू यी चोरको खोजी गर्दै कुरेर बसे ।
बुधबार साँझ यी चोर बाफल क्षेत्रबाट निस्किएर नागार्जुन तर्फ लागे । सादा पोसाकका प्रहरी पनि नागार्जुन क्षेत्रतर्फ चोरको पिछा गर्दै लागे । यी चोर एक घरको निगरानी गर्न थालेपछि सादा पोसाकका प्रहरीले यिनलाई नियन्त्रणमा लिन खोज्यो । तर यी चोर अर्थात् प्रेम थारुले आफूसँग भएको ह्याम्मरले वरिष्ठ प्रहरी हवलदार प्रेम बहादुर बराममाथि नै आक्रमण गरी घाइते बनाए । त्यसपछि प्रहरी टोलीले उनीमाथि गोली चलायो र खुट्टामा गोली हानेर नियन्त्रणमा लियो ।
त्यसपछि प्राथमिक उपचार गराएर उनी बस्ने गरेको डेरामा लगेर खानतलासी गर्दा थारुको डेराबाट आवरण बिगारिसकेको र नबिगारेको समेत गरी ६६ तोला सुनका गरगहना, १ किलोभन्दा बढी चाँदीका सिक्का र गरगहना, १ लाख ६३ हजार ६०० नेपाली रुपैयाँ लगायत बरामद भएको छ ।
चोरीकै नागरिकता प्रयोग गर्थे थारु

साँढे दुई महिनाकै अवधिमा ३ करोड ५० लाखको हाराहारीमा चोरी गरेका थारु यसअघि थुनामा जाँदा सुप्रिम विकाश चौधरी भन्ने सौरभ चौधरीको नामबाट जेल गएका थिए । तर यो उनको असली परिचय भने थिएन । उनको वास्तविक नाम प्रेम थारु नै रहेको र उनी नेपालगन्ज ३ का स्थानीय बासिन्दा भएको प्रहरीको दाबी छ । यद्यपि यही नागरिकता र ठेगाना पनि उनको सक्कली परिचय हो कि होइन भन्ने खुलेको छैन, प्रहरीले यस सम्बन्धमा थप जानकारी लिँदै गरेको छ ।

थारुसँग अन्य व्यक्तिहरूको पनि नागरिकता फेला परेको प्रहरीले जनाएको छ । उनले जसको नागरिकता पाए, त्यहीँ आफ्नो फोटो टाँसेर आफू भन्दै हिँड्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । उनीसँग कम्तीमा ४ फरक फरक नागरिकता फेला परेको भट्टराईको भनाई छ ।
चोरी नै पेसा, चोरेरै नेपालगन्जमा घर र हाइलक्स गाडी !
प्रहरीका अनुसार चोरीमा पक्राउ परेका थारुको बाँकेको नेपालगन्जमा पक्की घर रहेको छ । पक्राउ परेका थारुले श्रीमतीसँग डिभोर्स गरेर बसेको र घरमा दाइ मात्रै रहेको बताएका छन् । थारुले चोरी गरेकै पैसाबाट हाइलक्स गाडीसमेत खरिद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसरले बुधबार राति गोली हानेर नियन्त्रणमा लिइएका थारुको यति बेला ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले चोरी भएका र सिसिटिभीमा यिनै थारु देखिएका पीडितहरूलाई सम्पर्क गरेर आफ्ना गरगहना पहिचान गर्नका लागि प्रहरी कार्यालयमा बोलाएको छ । आवरण नबिगारेको गहना मुद्दा दायर गरेपछि पीडितलाई दिने गरी अहिले मुचुल्का तयार हुँदै गरेको छ । चोरी गरेरै घर निर्माण गरेको र हाइलक्स गाडी खरिद गरेको पाइएमा उक्त सम्पत्ति समेत कसुरजन्य सम्पत्तिको रूपमा बरामदीमा राखिने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया