पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

लोकपथ
56
Shares

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सेवालाई अझै गुणस्तरीय, संवेदनशील र पीडितमैत्री बनाउन निर्देशन दिएका छन् ।

इलाका प्रहरी कार्यालय, कोहलपुर परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक कार्कीले प्रहरी सेवा समयअनुसार परिवर्तन हुँदै गएको बताए । 

उनले प्रहरी अब कारबाहीमुखी मात्र नभई सेवा र सहयोगमुखी संस्थाका रूपमा अघि बढिरहेको उल्लेख गरे ।

‘पीडितको मनोविज्ञान बुझेर संवेदनशीलता र मानवताका आधारमा सेवा प्रवाह गर्न यस्ता संरचनाले महत्त्वपूर्ण भूमिका खेल्नेछ, ‘उनले भने ।

बेलायत सरकारको सहयोगमा सञ्चालित एसजेपी कार्यक्रमअन्तर्गत युनोप्सद्वारा निर्माण गरिएको उक्त भवन महिलासहित बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवालाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएको हो ।

महानिरीक्षक कार्कीका अनुसार यस सेवा केन्द्रमार्फत सेवाग्राहीले परामर्श, उजुरी दर्ता, अस्थायी आश्रय तथा आवश्यक कानुनी प्रक्रियासम्बन्धी सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन् । उनले प्रहरीले पीडितको गोपनीयता, सम्मान र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?