उज्यालो नेपाल पार्टी सामाजिक सञ्जालबाट होइन, डेलिभरीबाट स्थापित पार्टी हो : कुलमान घिसिङ

लोकपथ
77
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जालको प्रचारबाट स्थापित भएको नभई काम र डेलिभरीका आधारमा अर्गानिक रूपमा अघि बढेको पार्टी भएको बताएका छन् ।

जनकपुरमा पार्टीले सञ्चालन गरेको जनताको घरदैलो कार्यक्रम मा सहभागी हुँदै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी भाषणभन्दा कामलाई प्राथमिकता दिने नयाँ राजनीतिक शक्ति भएको दाबी गरे । उनले देशमा सामाजिक र आर्थिक रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै यही परिवर्तनको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने बताए ।

घिसिङले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने लक्ष्यका साथ राजनीतिमा आएको स्पष्ट पारे । उनका अनुसार प्रधानमन्त्रीको छनोट भाषणका आधारमा होइन, काम र डेलिभरीको मूल्यांकनका आधारमा जनताले गर्नेछन् ।

उनले उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि स्थापना भएको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको उल्लेख गर्दै नयाँ ऊर्जा र जोशसहित अघि बढिरहेको बताए । साथै, राष्ट्रिय परिवर्तन पार्टीसँग एकता भएपछि पार्टी थप सशक्त बनेको जानकारी दिए। दुवै पार्टी जेनजी आन्दोलनको भावना र माग बोकेर अघि बढेको उनको भनाइ छ ।

अध्यक्ष घिसिङले भाषण गरेर होइन, समाजमा काम गरेर आएका व्यक्तिहरू उज्यालो नेपाल पार्टीमा रहेको दाबी गरे । अबको निर्वाचनमा भाषण गर्ने होइन, काम गरेर डेलिभरी दिने व्यक्ति र पार्टीलाई मत दिनुपर्ने आवश्यकता औँल्याउँदै उनले विगतमा पनि काम गरेको र आगामी दिनमा पनि गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

उज्यालो नेपाल पार्टीले मधेस प्रदेशमा घरदैलो अभियान सुरु गरेको छ । मधेस प्रदेश धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएको महत्त्वपूर्ण प्रदेश भएकाले यहाँ पार्टीको सशक्त उपस्थिति रहेको अध्यक्ष घिसिङले बताए। प्रदेशका आठै जिल्लाका विभिन्न स्थानमा पार्टीका उम्मेदवार रहेको उल्लेख गर्दै उनले धेरै क्षेत्रमा प्रतिस्पर्धामा रहेको र उल्लेखनीय संख्यामा सिट जित्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?