रेणु र सोविताबिच नै मुख्य प्रतिस्पर्धा

विक्रम पाण्डे फ्याक्टरले गर्नेछ हारजितको छिनोफानो

लोकपथ
280
Shares

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चितवनको क्षेत्र नम्बर ३ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख राजनीतिक दलसहित ६ जना स्वतन्त्रले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

कुनै समय पुष्पकमल दाहाल, विक्रम पाण्डे जस्ता हाई प्रोफाइल व्यक्तिहरूले चुनाव जितेको यस क्षेत्रमा यसपटक पनि चर्चामा नै छ । किनभने यहाँ नेपाली कम्युनिस्ट पार्टीबाट रेणु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम प्रतिस्पर्धामा छन्, जो राष्ट्रिय स्तरमा चर्चित अनुहारहरू हुन् । त्यसै गरी नेपाली कांग्रेसबाट टेक प्रसाद गुरुङ र नेकपा एमालेबाट शंकरराज थपलियाले आफ्नो उम्मेदवारी दर्ता गराउँदा राप्रपाको समेत राम्रो पकड रहेको चितवन ३ मा दीपक थापा मगरले उम्मेदवारी दर्ता गराएका छन् ।

२०७९ को निर्वाचनमा एमालेको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे ३५ हजार ६० मत ल्याएर विजयी हुँदा कांग्रेस र समाजवादीको समर्थन पाएको माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारी २५ हजार ८२४ मतमा खुम्चिएका थिए । तेस्रो बनेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट जीता बरालले १४ हजार ८४३ मत ल्याउँदा कांग्रेसबाटै बागी उम्मेदवार बनेका दिनेश कोइरालाले १२ हजार २७५ मत ल्याएका थिए ।

चितवन ३ मा लामो समयदेखि नेपाली कांग्रेसले आफ्नै चुनाव चिन्हमा भोट हाल्न पाइरहेको छैन । स्थानीय तह निर्वाचनका क्रममा चितवनको भरतपुर महानगरपालिकामा पनि रेणु दाहाललाई जिताउन कांग्रेस तत्कालीन माओवादी केन्द्रको चुनाव चिन्हमा मतदान गर्नुपरेको थियो ।

कस्तो छ चितवन ३ को अवस्था, कति मत पाए जित्लान् ?
चितवन ३ मुख्यतः बसाइसराइ गरेर आउनेहरूको बस्ती हो । चितवन क्षेत्र नम्बर ३ मा माडी नगरपालिकाका सबै क्षेत्र र भरतपुर महानगरपालिकाका वडा नम्बर ६, ८, ९, १३ र २८ वडा पर्दछन् । यी सबै क्षेत्रमा गरी कुल १ लाख ५५ हजार ३०९ मतदाता रहेका छन् । कुल मतदातामध्ये ७५ हजार ६९६ पुरुष, ७९ हजार ६१२ जना महिला र एक अन्य मतदाता रहेका छन् ।
गत प्रतिनिधिसभा निर्वाचनमा कुल १ लाख ४४ हजार २८३ मतदाता रहँदा कुल ८९ हजार ५२९ मत खसेको थियो । यसलाई प्रतिशतमा हेर्दा कुल मतदाताको ६२ दशमलव शून्य पाँच प्रतिशत मत खसेको थियो ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनतर्फ हेर्दा कुल १ लाख ४४ हजार २८३ मतदातामध्ये समानुपातिकतर्फ सबैभन्दा बढी मत राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको थियो । कुल ९० हजार ३९० सदर मतमा रास्वपाले सबैभन्दा बढी मत अर्थात् २८ हजार ४०१ मत पाएको थियो । उक्त क्षेत्रमा दोस्रो बनेको राप्रपाले १६ हजार ७५५ मत पाउँदा माओवादी केन्द्रले १६ हजार ९० मत पाएको थियो । उक्त क्षेत्रमा चौथो बनेको एमालेले १४ हजार ५२२ मत पाउँदा पाँचौँमा रहेको कांग्रेसले १० हजार ५२४ मत र छैटौँमा रहेको समाजवादीले १ हजार ८५ मत प्राप्त गरेको थियो । अन्य दलहरूको समानुपातिक मत एक हजारभन्दा कम नै थियो ।

को के छन् चुनावी मैदानमा ?
यसपटक चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीबाट रेणु दाहाल, रास्वपाबाट सोविता गौतम, एमालेबाट शंकरराज थपलिया तथा कांग्रेसबाट टेक प्रसाद गुरुङ र राप्रपाबाट दीपक थापा मगर मैदानमा छन् ।

दाहाल नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका छोरीसमेत हुन्, जो भरतपुर महानगरका दुई कार्यकाल मेयरमा निर्वाचित भएकी थिइन् ।

यता काठमाडौं क्षेत्र नम्बर २ बाट अघिल्लो संसदमा निर्वाचित सोविता गौतम यति बेला चितवन ३ मा पुगेकी छिन् । वाक्पटुतामा काबिल देखिएकी सोविता रेणु दाहालसँग चुनाव लड्न चितवन पुग्दा यसपटक नेपाली कांग्रेस र एमालेले पनि आफ्नै उम्मेदवार पाएको छ । अघिल्लो निर्वाचनमा एमालेको सहयोगमा निर्वाचित भएको राप्रपा पनि यसपटक एक्लै चुनावी मैदानमा उत्रिएको छ र राम्रो पकड रहेका चितवन ३ मा राप्रपाले दीपक थापा मगरलाई उम्मेदवार बनाएको छ ।

कति मत ल्याए विजयी होलान् ?
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा पाएको मतलाई आधार मानेर मात्र विश्लेषण गरियो भने यसपटक परिणाम फरक आउन सक्छ । किनभने त्यति बेला राप्रपाका विक्रम पाण्डेलाई एमालेको मतसमेत गएको थियो भने माओवादी केन्द्रका भोजराज अधिकारीलाई कांग्रेसको मतसमेत गएको थियो । यद्यपि कांग्रेसबाटै बागी उम्मेदवारसमेत रहेका र १२ हजार भन्दा बढी मत प्राप्त गरेकाले नतिजा फरक पर्न सक्छ ।

तर उक्त निर्वाचनमा समानुपातिकतर्फ खसेको मतको विश्लेषण गर्ने हो भने नतिजामा केही नजिक पुग्न सकिन्छ ।

यस वर्ष चितवन क्षेत्र नम्बर ३ मा १ लाख ५५ हजार ३०९ जना मतदाता रहेका छन् । मतलब अघिल्लो पटकको निर्वाचनमा भन्दा ११ हजार मतदाता बढी छन् । अघिल्लो निर्वाचनमा खसेको ६२ प्रतिशत मतमा करिब २ प्रतिशत थप गर्ने हो र कुल मतदाताको ६४ प्रतिशत मत खस्छ भनेर अनुमान गर्ने हो भने उक्त निर्वाचन क्षेत्रमा करिब ९९ हजार ४०० मत खस्न सक्छ ।

अब यसपटक कुनै पनि राजनीतिक दलहरूबिच गठबन्धन नभएको कारण दलहरूले पाउने वास्तविक मतको चित्र यसपटक देखिन सक्छ । त्यसबाहेक प्रत्यक्ष हुने निर्वाचन प्रणालीमा व्यक्तिको चरित्र वा पहिचानले समेत फरक पार्ने भएकाले नतिजामा केही फरक पर्न सक्छ ।

प्रतिनिधिसभाको गत निर्वाचनमा प्राप्त भएको मतको विश्लेषण गर्दा चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पाटीका रूपमा रहेको कारण रास्वपाले चुनाव जित्ने सोझो आकलन गर्न सकिन्छ । किनभने रास्वपाले त्यस क्षेत्रबाट २८ हजार ४ सयभन्दा बढी मत पाउँदा दोस्रो बनेको राप्रपाको १६ हजार ७५५ मात्रै थियो । यस आधारमा रास्वपा र दोस्रो बनेको दलबिचको अन्तर धेरै छ ।

तेस्रो बनेको माओवादी केन्द्र १६ हजार ९० मतमा रहँदा चौथो दल एमालेको १४ हजार ५२२ र पाँचौँ दल नेपाली कांग्रेसको १० हजार ५२४ मत थियो । यही विश्लेषण गर्ने हो भने चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी पपुलर मतमा अन्य दलहरूभन्दा धेरै अगाडि रहेको छ ।

तर पहिलो हुने निर्वाचन प्रणालीमा व्यक्तित्वले फरक पार्ने भएकाले नतिजामा पनि फरक पार्न सक्नेछ । किनभने भरतपुर महानगरपालिकामा गरेको विकासका कारण रेणु दाहाल त्यस क्षेत्रमा लोकप्रिय छिन् । रेणु दाहालको लोकप्रियताले व्यक्तिगत मत तान्न सक्ने सम्भावना निकै बलियो छ ।

त्यति बेला माओवादी केन्द्र र कांग्रेसको समानुपातिक र प्रत्यक्षको मतान्तर ६ हजारको रहेको थियो । माओवादी केन्द्रले १६ हजार मत ल्याउँदा कांग्रेसले १० हजार मत पाएको थियो । माओवादी केन्द्रका उम्मेदवारले प्रत्यक्षतर्फ पाएका मतको हिसाब गर्दा र समानुपातिक मतको गणना गर्दा हिसाब करिब करिब मिलेकै देखिन्छ ।

यसरी हेर्दा चितवन ३ मा प्रभुत्व राखेका मुख्य पाँच वटै राजनीतिक दलले एक्ला एक्लै चुनाव लड्दा चुनाव जितका लागि कम्तीमा पनि कुल खसेको मतको २८ प्रतिशतको हाराहारीमा मत ल्याउनुपर्ने हुनसक्छ । यस्तो अवस्थामा चितवन ३ मा कुल ९९ हजार ४०० मत खस्दा चुनाव जित्न कम्तीमा करिब २८ हजार मत ल्याउनुपर्ने हुनसक्छ ।

क-कसको बिचमा तीव्र प्रतिस्पर्धा ?
चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा मुख्य प्रतिस्पर्धा भनेको नेपाली कम्युनिस्ट पार्टीकी रेणु दाहाल, रास्वपाकी सोविता गौतम र कांग्रेसका टेक प्रसाद गुरुङका बिचमा नै हुने देखिन्छ । तीनमध्ये पनि मुख्यतः रेणु दाहाल र सोविता गौतमका बिचमा नै मुख्य प्रतिस्पर्धा हुने बुझिएको छ ।

चितवनको भरतपुर क्षेत्रमा मतदाताहरू रेणु दाहाललाई नै मत दिने पक्षमा रहेका त्यहाँका केही स्थानीय मतदाताहरू बताउँछन् । भरतपुरमा गरेको विकासका कारण मतदाताहरू फेरि पनि रेणु दाहाललाई नै सांसदको रूपमा देख्न चाहिरहेका छन् । तर माडी नगरपालिका पूरै रहेको चितवन ३ मा माडी क्षेत्रका मतदाताहरू भने मिश्रित छन् । माडी विक्रम पाण्डेको पकड क्षेत्र रहेको कारण राप्रपाको अन्तिमसम्मको भूमिका त्यहाँ महत्त्वपूर्ण हुन सक्छ । राप्रपाका विक्रम पाण्डे समूह रास्वपा र नेपाली कांग्रेससँग लगातार सम्पर्कमा रही छलफल गरिरहेको छ । मुख्यतः विक्रम पाण्डेलाई राष्ट्रिय सभामा लगे त्यस क्षेत्रमा रास्वपा वा कांग्रेसलाई समर्थन गर्ने राप्रपाको तयारी छ । कुनै पनि दलसँग गठबन्धन वा सम्झौता नभएमा राप्रपाले आफ्नै उम्मेदवारलाई सक्रिय बनाउने तयारी गरेको छ ।

यति बेला नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले आ-आफ्ना उम्मेदवारको जीत निश्चित भएको दाबी गरिरहेका छन् । रास्वपा उम्मेदवार सोविता गौतमको बलात्कारसम्बन्धी भनाइको विषयलाई लिएर उनको आलोचना भइरहँदा चितवनमा पनि यसको केही असर परेको छ । यद्यपि सोविताले आफूले घटनालाई नभएर पुनर्स्थापना हुने विषयलाई चोट उस्तै हुन्छ भनेको भनेर स्पष्टीकरण दिइसकेकी छिन् ।

चितवनमा हिन्दु धर्मावलम्बीको सङ्ख्या बढी भएको कारण हिन्दुहरूले खगेन्द्र सुनारको अभिव्यक्तिलाई समेत लिएर आलोचना गरेको कारण सोवितालाई अप्ठेरो भइरहेको केही स्थानीयको भनाई छ । यद्यपि अहिले पनि ‘नयाँ दल’का रूपमा रास्वपाको चार्म बढिरहेको कारण सोविता बलियो उम्मेदवार रहेको र करिब ५० रेणुसँग बराबर हैसियतकै प्रतिस्पर्धी रहेको बताइएको छ ।

विक्रम पाण्डे फ्याक्टरले गर्नेछ हारजितको छिनोफानो

चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा मुख्यतः राप्रपा नै निर्णायक शक्तिका रूपमा रहेको छ । माडी नगरपालिका विक्रम पाण्डेको पकड क्षेत्र रहेको र उनले चुनाव समेत जितेको कारण यस क्षेत्रमा राप्रपाले आफ्नै उम्मेदवारलाई अगाडि बढाउँछ कि अन्यलाई समर्थन गर्छ भन्ने मुख्य चासो बनेको छ ।

किनभने यति बेला आफूलाई राष्ट्रियसभामा लैजाने दललाई समर्थन गर्ने भन्दै राप्रपाका नेता विक्रम पाण्डेले रास्वपा र कांग्रेससँग छलफल चलाइरहेका छन् । कांग्रेसलाई समर्थन गरे पनि कांग्रेसका उम्मेदवारले नजितेको अवस्थामा विक्रम पाण्डेको राष्ट्रिय सभामा जाने सपना पूरा नहुन सक्छ । यस्तो अवस्थामा सम्भव भएसम्म चितवन ३ मा विक्रम पाण्डे रास्वपालाई समर्थन गरी आफू राष्ट्रिय सभामा जान चाहन्छन् ।

रास्वपा पनि विक्रम पाण्डेसँग नियमित छलफलमा नै रहेको छ । चितवन ३ मा राप्रपाले कसैलाई पनि समर्थन नगरेको अवस्थामा अधिकतम ३ हजार ५ सय मतान्तरमा निर्वाचनको जित र हार हुने सम्भावना रहेको छ । तर विक्रम पाण्डेले कुनै एक उम्मेदवारलाई समर्थन गरी सहयोग गरेमा त्यही उम्मेदवार नै विजयी हुने सम्भावना रहेको छ । एकल एकल प्रतिस्पर्धा गरेको अवस्थामा भने अघिल्लो समानुपातिक मतका आधारमा रास्वपा र काम तथा पहिचानको आधारमा सोविता गौतम विजयी बन्ने आ-आफ्नै दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?