प्रणयले रास्वपालाई सोधे– ‘प्राइमरी इलेक्सनका लागि उठाइएको २५ हजार खै ?’

लोकपथ
777
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. प्रणय शमशेर राणाले पार्टीले उम्मेदवारका आकांक्षीहरुबाट उठाइएको पैसाको हिसाव खोजेका छन् ।

राणा ०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ मा उम्मेदवार समेत बनेका थिए । उक्त निर्वाचनमा ५ हजार ४ सय ७३ मत प्राप्त गरेका थिए, भने आगामी निर्वाचनका लागि समेत उनी आकांक्षी रहेका थिए । रास्वपाले विधानमा नै उम्मेदवार छनोट प्राइमरी इलेक्सनबाट गर्ने भने पनि यो निर्वाचनमा भने आफूखुसी उम्मेदवार छानेको थियो । सुरुमा प्राइमरी इलेक्सनका लागि रास्वपाले आकांक्षीहरुसँग २५ हजार उठाएको थियो । तर त्यसमा प्रश्न उठाउँदै उनले प्राइमरी इलेक्सन नै नगरेको भन्दै उठाइएको २५ हजार रुपैयाँको हिसाव खोजेका हुन् ।

‘भर्खरै म जस्ता सबै उम्मेदवारका आकांक्षीहरुले त्यही प्राइमरी इलेक्सनमा भाग लिनका लागि २५ हजार रुपैयाँ दिएका थियौँ । तर केही समयमा नै यो विधि छैन भनियो । भनेपछि हामीले पैसा के को लागि तिर्‍यौँ ?,’ उनले प्रश्न गर्दै भनेका छन् ।

उनले विधानमा नै प्राइमरी इलेक्सनको कुरा उल्लेख गरेको तर आफूखुसी उम्मेदवार छनोट गर्दा पार्टी नेतृत्वले विधान लत्याएको समेत आरोप लगाएका छन् । साथै अपडेट गरेर बुझाएको विधान अनुसार पार्टी नचल्दा अहिलेका प्रत्यक्ष तर्फका उम्मेदवारहरु नै कानून अनुसार अवैध हुनसक्ने टिप्पणी समेत गरे ।

‘प्राइमरी प्रक्रियाको लागि भनि आकांक्षीहरु संग ठगी (स्क्याम) गरी उठाएको पैसा कहिले फिर्ता गर्नेरु पारदर्शिता, सुशासन, अनि आन्तरिक लोकतन्त्र नारामा मात्र । रास्वपाका प्रत्यक्ष तर्फ़का सबै उम्मेदवार निर्वाचन आयोगको कानून अनुसार अवैध हुन सक्छन् ।
रास्वपाको प्राइमरी इलेक्सनमा भोटिङ नै फाइनल हुन पर्छ भनी ५० प्रतिशत अतिरिक्त नम्बरको चलखेल हटाउन धेरै कोशिस गर्दा पनि सकिएन किनकि धेरै पूर्वसंसदहरुलाई नै आफू यस प्रकियाबाट हारिन्छ कि भन्ने डर थियो,’ सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?