मोरङ–५ को चुनावी गणित : यसअघि स्वतन्त्र जितेका मण्डललाई कसले देला टक्कर ?

लोकपथ
385
Shares

प्रियंका कामत

काठमाडौं । हरेक मुलुकका लागि हरेक निर्वाचन महत्वपूर्ण हुन्छ । नेपालको इतिहासमा ०१५ सालको पहिलो आम निर्वाचन होस् ०६४ सालको पहिलो संविधान सभा निर्वाचन या ०७९ को संघीय निर्वाचन, सबैको आ–आफ्नै महत्व छ । आगामी फागुन २१ का लागि निर्वाचनको मिति तोकिएको छ, जुन नेपालको इतिहासमा ऐतिहासिक निर्वाचनको रुपमा दर्ज हुनेछ ।

नयाँ र पूरानोबिचको लडाईँ । नयाँलाई आफ्नो जित सुनिश्चित गर्दै स्थापित हुनुपर्ने र पुरानालाई विरासत जोगाउनुपर्ने, दुवैको आ–आफ्नै बाध्यता छ । अझ केही दलहरुले त ‘देश बनाउने र देश जलाउने’ हरुबिचको लडाईँ फागुन २१ को निर्वाचन भन्ने टिप्पणी गरिरहेका छन् ।

निर्वाचनको मिति नजिकिँदै जाँदा देशैभर चुनावी माहोल तातेको छ । यसैबिच ६ वटा संसदीय क्षेत्र भएको मोरङमा पनि उम्मेदवारहरु मतदाता फकाउन व्यस्त छन् । निर्वाचन आयोगले घरदैलोका लागि मिति तोक्न बाँकी नै रहे पनि उम्मेदवारहरु भने अघोषित रुपमा घरदैलो र मतदाता भेटघाटमा व्यस्त देखिएका छन् ।

सधैँ राजनीतिको चासोका रुपमा रहने मोरङ र विराटनगरमा पनि चुनावी सरगर्मी ह्वात्तै बढेको छ । यसपटकको प्रतिस्पर्धा बहुपक्षीय हुने देखिए पनि ६ वटै निर्वाचन क्षेत्रमा फेरि नेपाली कांग्रेस–एमाले– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायतका पूराना दलहरुसँग नयाँ आएका दलहरुको भीडन्त हुने देखिन्छ । यता नयाँ दल र नयाँ अनुहारहरु अहिले स्थापित नेताहरूको विरासतलाई चुनौती दिने तयारीमा देखिन्छन् ।

यस्तो छ मोरङमा मतदाता र उम्मेदवारको अवस्था

कुल ७ लाख ८३ हजार ५० मतदाता रहेको मोरङमा यसपटक ६ सिटका लागि जम्मा १ सय १० जना उम्मेदवार मैदानमा छन् ।

तीमध्ये २५ जना स्वतन्त्र उठेका छन् । मोरङको क्षेत्र नं ५ मा ५९६२२ पुरुष, ५०५५५ महिला गरी जम्मा ११०१७७ मतदाता रहेका छन । ४४ मतदान स्थल रहेको मोरङको क्षेत्र ५ मा १२४ मतदान केन्द्र रहेको छ । मोरङ–५ मा धनपालथान गाउँपालिका, जहदा गाउँपालिका, रंगेली नगरपालिकाको वडा नं ४, वडा नं ७ र विराटनगर महानगरपालिकाको वडा १३ र वडा १८ समेटिएको छ । उक्त क्षेत्रमा स्वतन्त्रसहित २१ जना मैदानमा छन् ।

मोरङको अरु क्षेत्रमा मिश्रित समुदाय रहे पनि नेपाली कांग्रेस र एमालेको पकड बलियो देखिन्छ । तर क्षेत्र नम्बर ५ मा भने सबैभन्दा बढी मधेशी मतदाताको संख्या भएकाले प्रायः सबै उम्मेदवारले संविधान संशोधनका विषयलाई प्रसार–प्रचारको मुख्य आधार बनाएर मतदाता फकाइरहेका छन् ।

मोरङको राजनीतिमा राम्रो पकड राखेका युवा उम्मेदवारका साथै पञ्चायतकालीन समयदेखि नै मोरङको राजनीतिमा सक्रिय रहेकाहरु समेत चुनावी प्रतिस्पर्धामा रहेको हुँदा यसपटक मोरङ क्षेत्र नम्बर ५ को चुनाव रोमाञ्चक बन्ने देखिन्छ ।

कुन उम्मेदवार कस्ता ?

गत निर्वाचनमा मोरङ क्षेत्र नं ५ मा स्वतन्त्र उम्मेदवारले जित हात पारेका थिए । स्वतन्त्रबाट जितेका योगेन्द्र मण्डल अहिले आफ्नै दल खोलेर चुनावी मैदानमा होमिएका छन् । राष्ट्रिय ऊर्जाशील पार्टी खोलेका मण्डल सोही दलबाट उम्मेदवार बनेका हुन् । उनलाई उनका पुरानै प्रतिद्वन्द्वी पूर्वमन्त्रीसमेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का शिवकुमार मण्डल लगायत अन्य उम्मेदवारहरुले चुनौती दिनेछन् ।

राजनीतिको अंकगणित र जनमतको लहर सधैँ सोचेजस्तो हुँदैन । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ ले एउटा जीवन्त उदाहरण पेस गर्‍यो । वर्षौँदेखि प्रभाव जमाएका दलहरूलाई उछिन्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले संसदको यात्रा तय गरे ।

३ वर्षअघि ‘चापाकल’ चुनाव चिह्न बोकेर गाउँ पसेका मण्डल यसपटक पार्टीको उम्मेदवार बनेर भोट मागिरहेका छन् । ‘जीवन विकास समाज’मार्फत २ हजार बढीलाई रोजगारी र लघुवित्तमार्फत गाउँगाउँमा उद्यमी बनाएका मण्डलको यो क्षेत्रमा व्यक्तिगत प्रभाव बलियो छ । ‘पहिले एक्लै थिएँ, अहिले दलसहित छु’ भन्दै उनी मैदानमा छन् । तर, स्वतन्त्र हुँदा पाएको साथ यो पटक पाउन उनका लागी मुख्य चुनौती छ ।

नेकपाका शिवकुमार मण्डल यस क्षेत्रका सबैभन्दा पुराना राजनीतिक खेलाडी हुन् । २०६४ सालको अन्तरिम सांसददेखि सुरु भएको उनको संसदीय यात्रामा अहिले छैटौं पटक चुनावी मैदानमा छन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा ८ मतको झिनो अन्तरले जितेका मण्डलले २०७४ मा वाम गठबन्धनको बलमा जित हासिल गरेका थिए ।

पटक–पटक चुनाव लडेका र मन्त्रीसमेत भइसकेका मण्डलका लागि यसपटकको निर्वाचन अस्तित्वको लडाइँ बनेको छ ।

किनकी, उनी तत्कालीन नेकपा माओवादी केन्द्रमा हुँदा जनार्दन शर्माको समूहमा थिए । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम दलबीच एकता गर्दा जनार्दनले पार्टी छाडे । जनार्दनले पार्टी छाडेपछि केही समय निष्क्रिय रहेका उनी पछि नेकपामै जोडिन आइपुगे, उनी नेकपामै फर्किंदा तत्कालीन माओवादीको एउटा समूह उनीसँग असन्तुष्ट छ ।

२०६३ सालको अन्तरिम संसदमा मनोनित सांसद मण्डलले त्यसयता निरन्तर चुनाव लडिरहेका छन् । २०६४ को संविधानसभा निर्वाचनमा उनी उपेन्द्र यादवसँग पराजित भए । २०७० सालमा तत्कालीन ४ (हाल ५) बाट माओवादी उम्मेदवार मण्डलले ९ हजार ३६० मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार गयानन्द मण्डलले ९ हजार ३५२ मत पाएका थिए ।

२०७४ सालमा अमृत अर्याललाई ३ हजार ७९२ मतले पराजित गर्दै मण्डल निर्वाचित भएका थिए । उनले २२ हजार ९४५ मत प्राप्त गर्दा अर्यालले १९ हजार १५३ मत पाएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई यो क्षेत्रमा अमृत अर्यालले पराजित गरेका थिए ।

यसअघिको निर्वाचनमा उम्मेदवार नभएका देशका २ ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले यसपटक आफ्नै झण्डा र चुनाव चिह्नसहित मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेसले मारवाडी समुदायका फुलकुमार लालवानीलाई अघि सारेको छ । नेकपा (एमाले)ले व्यापारिक पृष्ठभूमि भएका मनोज अग्रवाललाई चुनावी मैदानमा उतारेको छ । यी २ ठूला दलको उपस्थितिले अघिल्लो पटक छरिएको मत अब कता ध्रुवीकृत हुन्छ भन्ने कुराले नै नतिजा तय गर्ने देखिन्छ ।

परम्परागत दल र पुराना अनुहारको भिडमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आशा झा उम्मेदवार छिन् । नयाँ पुस्ता र परिवर्तन चाहने मतदाताको मत तान्न सके उनले कसको भोट बैंक बिगाार्ने हुन् भन्नेमा ठूला दल सशंकित छन् । २१ जना उम्मेदवार रहेको यो क्षेत्रमा साना दल र स्वतन्त्रले काट्ने मत नै निर्णायक बन्न सक्छ ।

भारतसँग जोडिएको सीमावर्ती क्षेत्र भएकाले मोरङ–५ का समस्या पुरानै छन् जीर्ण सडक, कृषिमा मलखादको अभाव, नागरिकताको समस्या र सीमापार तस्करी । हरेक निर्वाचनमा उम्मेदवारहरूले यी समस्या समाधान गर्ने ‘रेडिमेड’ आश्वासन दिन्छन् । तर, मतदाताको जीवनस्तरमा परिवर्तन आउन सकेको छैन । जेनजी आन्दोलनपछि देखिएको राजनीतिक परिवेशका कारण नयाँ र पूरानाबिचको रोचक प्रतिष्पर्धा हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?