काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले पाटनस्थित मानसिक स्वास्थ्य अस्पताललाई ‘राष्ट्रिय मनोस्वास्थ्य केन्द्र’का रूपमा विकास गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
बुधबार ललितपुरको पाटनमा रहेको मानसिक स्वास्थ्य अस्पतालको अनुगमनका क्रममा मन्त्री गौतमले अस्पतालको नाम र पहिचान परिवर्तन गरेर राष्ट्रिय मनोस्वास्थ्य केन्द्र बनाउने प्रस्ताव उपयुक्त रहेको बताउँदै त्यसलाई अघि बढाउन आफू सकारात्मक रहेको स्पष्ट पारिन् ।
उनले मानसिक रोगीप्रति समाजमा रहेको हेयभाव र गलत धारणा हटाउन अस्पतालको नाम परिवर्तन प्रभावकारी हुन सक्ने उल्लेख गरिन् । मानसिक रोगलाई अन्य शारीरिक रोगसरह सामान्य रूपमा लिनुपर्नेमा जोड दिँदै मन्त्री गौतमले भनिन्, ‘जसरी रक्तचाप, मधुमेह वा क्यान्सर रोग हुन्छ, त्यसरी नै मस्तिष्क र मनसँग सम्बन्धित समस्या आउनु पनि सामान्य हो । तर मानसिक रोग भन्नेबित्तिकै समाजमा स्टिग्मा जोडिने प्रवृत्ति गलत छ।
निर्वाचन आचारसंहिताका कारण हाल धेरै काम गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै उनले सकेसम्म पहल गर्ने र नसके आगामी सरकारले यसलाई प्राथमिकतामा राखेर अघि बढाओस् भन्ने अपेक्षा व्यक्त गरिन् ।
मन्त्री गौतमले नेपालमा मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिको संख्या बढ्दो रहेको उल्लेख गर्दै यसको उपचार, सेवा विस्तार र सामाजिक चेतना अभिवृद्धिका लागि आगामी सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन् । साथै उपचारका क्रममा देखिने सामाजिक स्टिग्मा हटाउन दीर्घकालीन नीति आवश्यक रहेको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया