ट्रम्पद्वारा बजेट प्याकेजमा हस्ताक्षर, आंशिक सरकारी शटडाउन अन्त्य

लोकपथ
77
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आंशिक सरकारी शटडाउन अन्त्य गर्ने वृहत बजेट प्याकेजमा हस्ताक्षर गरेका छन् ।

यो प्याकेज अमेरिकी संघीय निकायहरूलाई चालु आर्थिक वर्षको बाँकी अवधिको लागि बजेट उपलब्ध गराउने उद्देश्यले तयार पारिएको हो ।

यसमा रक्षा मन्त्रालय, शिक्षा मन्त्रालय, स्वास्थ्य र मानव सेवा मन्त्रालय, श्रम मन्त्रालय, यातायात मन्त्रालय, तथा आवास र सहरी विकास मन्त्रालयको बजेट समावेश गरिएको छ ।

सुरुमा यस प्याकेजमा गृह सुरक्षा मन्त्रालय (डीएचएस) को बजेट समावेश गरिएको भए पनि अन्ततः हटाइएको छ । डीएचएसलाई हालको बजेट स्तरमै दुई हप्ताको निरन्तर प्रस्ताव (कन्टिन्युइङ रिजोलुसन) दिइनेछ । यसले दुई पक्ष र ह्वाइट हाउसलाई आप्रवासन सम्बन्धी वार्ता जारी राख्न समय दिएको छ ।

मिनियापोलिसमा संघीय सुरक्षाकर्मीद्वारा गरिएका हालका दुई घातक गोलीकाण्डले डेमोक्र्याटहरूलाई आप्रवासन निकायको सञ्चालनमा सुधार खोज्न प्रेरित गरेको छ । 

सिनेटका अल्पसंख्यक नेता चक शुमरले आईस (अध्यागमन र भन्सार प्रवर्तन) लाई कानुनी रूपमा उचित नियन्त्रण र सुधार नगरेसम्म डीएचएस बजेट विधेयक पारित नहुने चेतावनी दिएका छन् ।

अमेरिकामा हालका वर्षहरूमा रिपब्लिकन र डेमोक्र्याट पार्टीबिचको राजनीतिक ध्रुवीकरण बढ्दै गएपछि संघीय सरकार पटक–पटक शटडाउनको जोखिममा परेको थियो। ४३ दिनसम्म चलेको लामो संघीय शटडाउन दुई महिना अघि मात्रै अन्त्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?