हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्नुपर्छ : नवराज सिलवाल

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एमालेका नेता नवराज सिलवालले हिमाली क्षेत्रमा मौसम र भौगोलिक चुनौतीका कारण प्रतिनिधिसभा निर्वाचन दोस्रो चरणमा गर्नुपर्ने भन्दै त्यसअनुसार सरकार अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल कानुन समाजले मंगलबार विज्ञहरूसँग प्रतिनिधिसभा निर्वाचनका विषयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुने भएकाले निर्वाचन सार्नु व्यवहारिक हुने बताए । उनका अनुसार भौगोलिक चुनौतीबाहेक अन्य सुरक्षा कारणले भने निर्वाचन रोकिने अवस्था छैन ।

नेता सिलवालले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारको तयारीले मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको निष्कर्ष निकाल्न सकिने बताए । ‘अब चुनाव हुँदैन कि भन्ने शंका हटिसकेको छ,‘उनले भने ।

उनले संसद पुनःस्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले समयमै स्पष्ट धारणा नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे । अदालतमा मुद्दा दर्ता भइसकेपछि त्यसलाई ‘एस आर नो’ (सुन्ने वा नसुन्ने) के गर्ने भन्ने विषयमा समयमै फैसला आएको भए न्यायालयको गरिमा अझ बढ्ने उनको भनाइ थियो ।

सिलवालले बंगलादेशमा सन् २०२४ को अगस्तमा भएको हिंसा र त्यसपछि बनेको अन्तरिम सरकारले दुई वर्षसम्म पनि निर्वाचन गर्न नसकेको उदाहरण दिँदै नेपालको अवस्था फरक रहेको बताए । 

नेपालमा भने भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि पनि संविधानअनुसार नै निर्वाचन प्रक्रिया अघि बढिरहेको उनको भनाइ छ ।

‘वर्तमान संविधानअनुसार नयाँ र पुराना शक्ति एकै ठाउँमा आएर निर्वाचनमा सहभागी हुनु नै नेपाल शान्तिपूर्ण समाज भएको सन्देश हो,‘उनले भने ।

उनले निर्वाचनपछि आउने परिणाम मिश्रित हुने सम्भावना औँल्याउँदै जेनजी आन्दोलनमा उठेका मुद्दाहरू पूर्ण रूपमा सम्बोधन गर्न कठिन हुने बताए । 

हालको निर्वाचन प्रणालीले एउटै राजनीतिक दललाई स्पष्ट बहुमत दिन नसक्ने र बहुमत नहुँदा दलहरूलाई आफ्ना घोषणापत्र कार्यान्वयन गर्न समस्या हुने उनको निष्कर्ष थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?