काठमाडौं । दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव अझै हट्न सकेको छैन ।
बजारमा खासगरी नेपाल ग्यासको चरम अभाव देखिँदा उपभोक्ता मारमा परेका छन् । उपत्यकाभर नेपाल ग्यासको बजारमा वर्चश्व धेरै छ । भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ ।
नेपाल ग्यासका बिक्री केन्द्रहरुमा दुई सातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौँ उपभोक्ता पुग्ने गरेका छन् ।
कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो नयाँ बसपार्कबाट खाली सिलिण्डर बोकेर गएका नमराज घिमिरेले बताए ।
उपभोक्ता घिमिरेले भने– ‘घरमा ग्यास खाँचै भइसक्यो, डिपोले ग्यासै दिँदैन, डिपोले कम्पनीमै जानु त्यहाँ ग्यास बाँडेको छ भन्यो । डिपोमा १०–१५ दिनदेखि पालोमा राखे तर पालो नै आएन । पालोमा राख्दा ढिला हुन्छ भनेपछि बालाजु औद्योगिकमा रहेको कम्पनीको कार्यालयमै आएको हो । हिजो अस्ती कम्पनीले ग्यास बाँडेको छ भनेर आएको आज बाँडेको रहेनछ, बिचल्ली हुने भयो ।’
उनले ग्यास बजारमा चरम अभाव हुँदा घरमा परिवारको बिचल्ली हुने अवस्था आएको बताए ।
घरमा एउटै सिलिण्डर भएकाले सकिसकेकाले घरमा बिचल्लि अवस्था आएको घिमिरेले बताए ।
बजारमा नेपाल ग्यास कहीँ कतै नपाएपछि बालाजु औद्योगिक क्षेत्र भित्र रहेको कम्पनीको कार्यालयमा पुगेका रौतहट घर भई हाल चाबहिलका प्रेम साहले आफू काठमाडौंमा काम गर्ने गरेको र डेरामा ग्यास सकिएको र समयमै नपाएको बताए ।
उनले नेपाल ग्यास नपाएपछि आगोमा पकाएर जीविकोपार्जन गरिरहेको बताए ।
उपभोक्ता शाहले भने– ‘ग्यास सकिएको छ । दाउरामा पकाएर खानुपरेको छ । एक घण्टादेखि ग्यास लिन नेपाल ग्यासको कम्पनीकै कार्यालयमा आएको अहिलेसम्म पाएको छैन । तिन दिन भइसक्यो ग्यास भ्याइएर खोजिरहेको नेपाल ग्यास कही पाइन । एउटा मात्रै सिलिण्डर थियो । आज त ग्यास लिन खान नखाइ आएको हो ।’
आफूले कहिकतै ग्यास नपाउँदा बिजोग भइरहेको उनको भनाइ छ ।
अर्का उपभोक्ता धार्दिङ घर भइ हाल काठमाडौंमा बस्दै आएका अर्जुन सिम्खडाले पनि आफ्नो वरिपरि कतै नेपाल ग्यास साट्न नपाएको बताए ।
उपभोक्ता सिम्खडाले भने– ‘म नेपालटारमा बस्छु । त्यहाँ ग्यास पाइएको छैन । डिपोले बालाजु औद्योगिक क्षेत्रमा पठायो । कम्पनीकै कार्यालयमा आएर पनि ग्यासै पाउन सकिएको छैन । आज बेलुकासम्म पनि पालो आउने हो की होइन पत्तो छैन । हिजो पनि एकचोटी ग्यास लिन आएको पाइन । विद्यार्थी भएकाले एउटा मात्रै ग्यास डेरामा थियो । त्यो सकिएपछि पाउनै कठिन भयो । आज पनि ग्यास पाउँदैनौँ भनेर गार्डहरुले भनिरहेका छन् । अब त अति नै भयो ।’
यसरी उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले समस्या कायमै रहेको बताएको छ । नेपाल ग्यास कार्यकारी सञ्चालक तथा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष समेत रहेका गोकुल भण्डारीले नेपाल ग्यासको माग दैनिक ८–१० बुलेट रहने गरेको बताए ।
उनकाअनुसार त्यो मात्रमा ढुवानीमा केही समस्या रहदा समस्या भएको हो । अहिले समस्या हल भएपनि बजारको चक्र केही गढबढ भएकाले त्यसले पुरानै अवस्थामा आउन केही दिन लाग्ने बताए ।
सञ्चालक भण्डारीले भने– ‘हाम्रो दायित्व भनेको सम्पूर्ण उपभोक्तालाई समयमै ग्यास उपलब्ध गराउनु हो । यो राज्यबाट नियन्त्रित व्यवसाय भएकाले राज्यले पनि भुमिका खेल्नुपर्छ । लोडिङ गर्ने कुरामा हाम्रा आफ्ना बुलेट नभएका कारणले समस्या आएको हो । उद्योगको कारणले मात्रै ग्यास अभाव भएको होइन । पाइपलाइनको कुरा छिटो गर्ने हो भने यस्ता समस्या बारम्बार आउने थिएनन् ।’
सञ्चालक भण्डारीले नेपाल ग्यास दैनिक ८ हजार सिलिण्डर खपत हुने गरेको बताए ।
जाडो महिनामा यो संख्या अझ बढ्छ । पछिल्लो दिनमा जति डिमाण्ड हो त्यो भन्दा बढि नै ग्यास बजारमा उनको दाबी छ । बजारमा जुन अभाव देखिएको छ, यो कभर हुँदैछ । अहिले आत्तिनुपर्ने स्थिति छैन । ग्यास रेगुलर आउन थालिसकेको छ । अहिले आवश्यकता भन्दा बढी ग्यास भरेर राखिएका कारणले पनि अभाव देखिएको उनको दाबी छ ।
नेपाल आयाल निगमले नेपाल ग्यास सहित केही अन्य ग्यासको बजारमा चरम अभावबारे जानकार रहेको बताएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले छिटो अभाव हटाउन उद्योगीलाई कडा निर्देशन दिइएको बताए ।
प्रवक्ता ठाकुरले भने– ‘नेपाल ग्याससहितमा केही समस्या देखापरेको छ । उनीहरुले भारतबाट समयमै ढुवानी गर्न नसकेको पाइयो । ग्यास दुवानी गर्ने एउटा पनि ढुवानीकर्ता छैनन् । जतिपनि छन् भारतीयहरु छन् । तिनैमाथि हामी निर्भर भएका छौँ । समयमै ढुवानीकर्ता भएनन भने पनि हामीलाई समस्या हुने गरेको छ, अहिले त्यस्तै समस्या आएको हो । अहिले उद्योगीहरुलाई बोलाएर अभाव हटाउन र इण्डियन अयल कर्पोरेससँग पनि निगमले कुराकानी गरिरहेको छ ।’
उनले चुनाव पनि नजिकिएकाले अभाव हटाउन निगमले चासो देखाइरहेको बताए ।
निगमले कालोबजारी कसैले गरे कडा कारबाही गर्ने समेत चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया