विश्वकपमा भारतविरुद्ध नखेल्ने पाकिस्तानको निर्णयप्रति आईसीसीको चेतावनी 

लोकपथ
287
Shares

काठमाडौं । पाकिस्तानले टी–२० विश्वकपमा भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विज्ञप्ति जारी गर्दै पाकिस्तानलाई चेतावनी दिएको छ ।

गएराति विज्ञप्ति जारी गर्दै आईसीसीले पाकिस्तान क्रिकेट बोर्डबाट आधिकारिक सूचनाको पर्खाइमा रहेकोसमेत बताएको छ । साथै आईसीसीले पाकिस्तानको निर्णय कुनै पनि विश्वव्यापी खेलकुद कार्यक्रमको भावनाविपरीत रहेको बताउँदै सबै योग्य टोलीले निर्धारित तालिकाअनुसार समान सर्तहरूमा विश्वस्तरीय प्रतियोगितामा भाग लिनुपर्ने बताएको छ । 

आईसीसीले भनेको छ, ‘आईसीसी प्रतियोगिताहरू खेलकुद भावना, प्रतिस्पर्धा, स्थिरता र निष्पक्षतामा आधारित हुन्छन् । त्यसैले छनौट सहभागिताले प्रतियोगिताको पवित्रता र भावनालाई कमजोर बनाउँछ । राष्ट्रिय नीतिको मामिलामा संस्थाले सरकारको भूमिकाको सम्मान गरे पनि परिषद्को विश्वास छ, यो निर्णय न त विश्वव्यापी क्रिकेटको सर्वोत्तम हितमा छ न त विश्वभरका क्रिकेट प्रशंसकहरूको । विशेष गरी पाकिस्तानका लाखौँ प्रशंसकहरूको हितमा नै यो छ ।’ 

आईसीसीले पाकिस्तान क्रिकेट बोर्डले देशको क्रिकेटको भविष्यमा पर्ने दीर्घकालीन र गम्भीर प्रभावहरूलाई विचार गर्ने बताउँदै घुमाउरो भाषामा चेतावनी समेत दिएको छ । यसले विश्वव्यापी क्रिकेट इकोसिस्टमलाई पनि असर गर्ने भन्दै आइसीसीले पाकिस्तान पनि यसको लाभार्थीमध्ये एक रहेको उल्लेख गरेको छ । साथै आईसीसीले टी–२० विश्वकप शीर्ष प्राथमिकता रहेको बताउँदै यसलाई सफल बनाउन सबै सदस्य देश जिम्मेवार हुनुपर्ने स्पष्ट गरेको छ ।

पाकिस्तान सरकारले आइतबार आगामी टी–२० विश्वकपमा भाग लिने निर्णय गर्दै फेब्रुअरी १५ मा हुने भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?