भारतले नेपाललाई दिँदै आएको सहायता रकम बढायो

लोकपथ
266
Shares

काठमाडौं । छिमेकी देश भारतले नेपालका लागि उपलब्ध गराउँदै आएको विकास सहायता रकम बढाएको छ ।

भारतले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको केन्द्रीय बजेटमा नेपाललाई दिइने विकास सहायता बढाएको हो ।

भारतको ‘छिमेक पहिलो’ नीति अन्तर्गत नेपाललाई उपलब्ध गराइने अनुदान रकम ८०० करोड भारतीय रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०० करोड रुपैयाँले बढी हो । नेपाललाई दिइएको सहयोग वृद्धिले पूर्वाधार, सीमा क्षेत्रमा विकास परियोजना र सामाजिक क्षेत्रमा भारत–नेपाल सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

भारतले क्षेत्रीय सम्बन्ध र छिमेकी मुलुकसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै नेपालसहित भुटान, श्रीलंका र अफगानिस्तानलाई पनि सहायता रकम वृद्धि गरेको छ ।

भारतको यो निर्णयलाई नेपाल–भारत विकास साझेदारी निरन्तरताको संकेतका रूपमा हेरिएको छ ।

नेपालसँगै श्रीलंकालाई पनि ४०० करोड भारतीय रुपैयाँ छुट्याइएको छ, जुन अघिल्लो वर्षभन्दा १०० करोड रुपैयाँ बढी हो । आर्थिक पुनरुत्थानको प्रयासमा रहेका दुवै मुलुकलाई लक्षित गर्दै सहायता बढाइएको भारतीय बजेट दस्तावेजमा उल्लेख छ । अफगानिस्तानका लागि भारतले ५० करोड रुपैयाँ थप गर्दै कुल १५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी, मौरिससलाई दिइने सहयोग ५० करोड रुपैयाँ बढेर ५५० करोड रुपैयाँ पुगेको छ भने मंगोलियाका लागि अनुदान ५ करोडबाट बढेर २५ करोड रुपैयाँ पुगेको छ ।

सेसेल्सका लागि भने सहयोग रकम यथावत् १९ करोड रुपैयाँमै सीमित छ ।

भारतले केही छिमेकी मुलुकका लागि सहयोग वृद्धि भने गरेको छैन । भारतले बंगलादेश, माल्दिभ्स र म्यानमारको सहायता रकम घटाएको छ । बंगलादेशका लागि अनुदान आधाले घटाएर ६० करोडमा सीमित गरिएको छ । अघिल्लो वर्ष बंगलादेशलाई १२० करोड विनियोजन गरिएको थियो ।

माल्दिभ्सका लागि अनुदान ५० करोडबाट घटाएर ५५० करोड भारतीय रुपैयाँ र म्यानमारका लागि ५० करोडबाट घटाएर ३०० करोड भारतीय रुपैयाँमा झरेको छ ।

भारतको विदेश मन्त्रालयको समग्र बजेट भने यस वर्ष २२ हजार ११८.९७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २० हजार ५१६.६१ करोड रुपैयाँभन्दा केही बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?