नियतवस आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही गर्ने आयोगको तयारी

लोकपथ
84
Shares

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टिकरण सोधेको छ ।

आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए ।

उनले स्पष्टीकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको र बाँकीको जवाफ आउने क्रममा रहेको उनले बताए ।

उनकाअनुसार आयोगले आचारसंहिता उल्लङ्घनका घटनाको अध्ययन र विश्लेषण गर्न कार्यदल गठन गरेको छ ।

कार्यदलले सोधिएको स्पष्टीकरणमा जवाफ पठाएकाहरुलाई कारबाही गर्ने वा नगर्ने निर्णय गरेर केन्द्रिय आचारसंहिता अनुगमन समितिमा सिफारिस गर्ने उनले जानकारी दिए ।

नियतवश आचारसंहिता उल्लङ्घन भएको पुष्टि भए आयोगले कारबाही गर्ने उनले बताए ।

उनले भने, ‘केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीमध्ये २१ वटालाई स्पष्टिकरण सोधिएको छ । अहिले बढेर २३ पुगेको भन्ने छ । यो बढ्ने क्रमम जारी रहन्छ, अहिलेलाई २१ भनेँ । २१ वटा सम्बन्धित व्यक्ति र संस्थालाई स्पष्टिकरण सोध्ने काम भएको छ । १२ वटाबाट जवाफ आइसकेको छ । अरुको जवाफ आउने क्रममा छ । आयोगले कानुन बमोजिम कारबाही गर्नेछौँ । कसैलाई सफाईको मौका नदिईकन कारवाही गर्न हुँदैन भन्ने व्यवस्था समेत कानूनमा गरिएको हुन्छ । आयोगले स्पष्टिकरण सोध्छ, कारबाही गर्दैन भन्ने जिज्ञासा वा गुनासो पनि आउने गर्छ तर त्यो होइन । नियतवश नै आचारसंहिता उल्लङ्घन भएको रहेछ भने आयोगल थप कारबाही पनि गर्छ । एउटा कार्यदल बनेको छ । कार्यदलले अध्ययन गर्ने, कारबाही गर्ने हो की होइन, स्पष्टिकरण सोध्ने हो की होईन भन्ने विश्लेषण गरेर केन्द्रिय आचारसंहिता अनुगमन समितिमा पेश गर्ने काम गरिरहेको छ ।’

उनले आचारसंहिता कार्यान्वयनका लागि जिल्लास्तरमा पनि अनुगमन व्यवस्था गरिएको जानकारी दिए । उनकाअनुसार आर्थिक पक्षको अनुगमनका लागि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुखलाई र अन्य विषयको अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिइएको छ ।

मिथ्या सूचना प्रशारण गर्नेलाई कारबाही गर्न सिफारिस

निर्वाचन आयोगले डिजिटल माध्यामबाट मिथ्या सुचना प्रशारण गर्नेलाई पहिचान गरी कारबाही गर्न सिफारिस गरेको छ ।

आयोगको निर्वाचन सूचना संप्रेषण तथा समन्वय केन्द्र (ईआईडीसी) अन्तर्गतका निकायहरुले मिथ्या सूचना प्रवाह गर्नेहरुको पहिचान गरेको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए । गलत सूचना, मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति जस्ता हानिकारक सूचनाहरू फैलिरहेकोले उनले बताए ।

उनकाअनुसार हानिकारण सूचना फैलाउने १२० वटा सामग्री विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको छ ।

त्यस्तै, ६ वटा सामग्री दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणमा, १५ वटा प्रेस काउन्सिल ऐन, २०४८ अन्तर्गत प्रेस काउन्सिल नेपालमा र निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनसम्बन्धी ३४ वटा सामग्री केन्द्रिय आचारसंहिता अनुगमन समितिमा पठाइएको उनले जानकारी दिए ।

उनले भने, ‘हानिकारक सूचनाहरु पहिचान गर्ने र सम्बन्धित निकायमा कारबाहीको लागि लेखेर पठाउने गरिएको छ । त्यसअन्तर्गत १२० वटा कन्टेन्टहरुलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीको लागि नेपाल प्रहरीको साईबर व्युरोमा पटाइएको छ । ६ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अन्तर्गत कारबाहीको लागी दूरसञ्चार प्राधिकरणमा पठाइएको छ । १५ वटालाई प्रेस काउन्सिल ऐन २०४८ बमोजिम कारबाहीको लागि प्रेश काउन्सिलमा पठाइएको छ । ३४ वटालाई निर्वाचन आचारसंहिता, २०८२ को उल्लङ्घन भएकोले सो बमोजिम कारबाही गर्नको लागी केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाईएको छ ।’

उनले आयोगको कल सेन्टरमा हालसम्म १ हजार ६७७ वटा प्रश्न प्राप्त भएको पनि जानकारी दिए । तीमध्ये सबैभन्दा बढी मतदाता नामावलीसम्बन्धी ९०६ वटा प्रश्न रहेका छन् । आचारसंहितासम्बन्धी १३५, मतदाता शिक्षासम्बन्धी ६१ र अन्य विषयका ५७५ वटा प्रश्न प्राप्त भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?