कानुन विपरीत प्रि-आइपिओ बेच्दै यति एयरलाइन्स

अडिट रिपोर्टमै गोलमालको आशंका, कतै नेकोन जस्तै टाट पल्टने त होइन ?

लोकपथ
84
Shares

काठमाडौं । तपाईँलाई कतै न कतैबाट सूचना, म्यासेज वा आग्रह त आएकै होला, यति एयरलाइन्सको आइपिओ आउँदै छ भनेर । आइपिओ आउन लागेको कारण त्यो भन्दा पहिले नै सेयर किन्न भनिएको पनि होला । पछि एक हजार रुपैयाँ पुग्ने सेयर अहिले १५० रुपैयाँमै पाइएको छ पनि त भनिएकै होला ।

हो, यतिबेला यति एयरलाइन्सले प्रि आइपिओको नाममा प्रिमियम मूल्यसहित सेयर बेचिरहेको छ । यति एयरलाइन्सले प्रतिकित्ता १५० रुपैयाँका दरले कम्तीमा ५ हजार कित्ता किन्नै पर्ने गरी सेयर बेचिरहेको छ, त्यो पनि बैङ्कमार्फत नै । जुन गैर कानुनी मात्रै होइन, आर्थिक विवरण मै छेडखानी अर्थात् गडबडी गरेको आशंका गरिएको छ ।

यति एयरलाइन्स पब्लिक कम्पनी हो । हालसालै मात्रै एसियन लाइफ इन्सुरेन्स कम्पनीले यति एयरलाइन्सको ४७ प्रतिशत सेयर खरिद गरेपछि यसलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । कम्पनीलाई लिमिटेड कम्पनीमा रूपान्तरण गरेपछि ५० जनाभन्दा बढी व्यक्तिलाई संस्थापक सेयर खरिद गराउँदा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर मात्रै गराउनु पर्छ । तर यति एयरलाइन्सले न धितोपत्र बोर्डबाट स्वीकृति लिएको छ, न कुनै सूचना नै जारी गरेको छ । बरु कर्मचारीका लागि भन्दै खुसुक्क सर्वसाधारण व्यक्तिहरूलाई सेयर किनाइरहेको छ, यति एयरलाइन्सले ।

किन र कसरी भयो यति को सेयर विक्री गैर कानुनी ?
धितोपत्र सम्बन्धी ऐन, २०६३ ले संगठित संस्था अर्थात् पब्लिक कम्पनीले धितोपत्रको सार्वजनिक निष्कासन गर्नुपर्ने भएमा र एक पटकमा ५० जनाभन्दा बढी व्यक्तिहरूलाई धितोपत्र अर्थात् सेयर बेच्नुपर्ने भएमा सार्वजनिक निष्कासन गर्नै पर्ने व्यवस्था गरेको छ । ऐनको दफा २९ मा स्पष्टरुपमा यो व्यवस्था कायम गरिएको छ ।

ऐनको दफा २९ मा भनिएको छ,
धितोपत्रको सार्वजनिक निष्कासन गर्नु पर्ने :
(१) संगठित संस्थाले एक पटकमा पचास जनाभन्दा बढी व्यक्तिहरूलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्कासन गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम निष्कासन गरिने धितोपत्रको दरखास्त खुला रहने अवधि तोकिए बमोजिम हुनेछ ।

(३) सार्वजनिक निष्कासन हुने धितोपत्रको मूल्य तथा बाँडफाँड सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

(४) एक पटक सार्वजनिक निष्कासन गरिसकेको धितोपत्र बिक्री नभई एक वर्षभित्र पुनः निष्कासन गर्नु परेमा त्यसरी धितोपत्र निष्कासन गर्ने संगठित संस्थाले पहिले प्रकाशित विवरण पत्रमा उल्लेख भएका कुराभन्दा फरक भएका कुराहरू बोर्डको स्वीकृति लिई त्यस्तो फरक भएका कुरा र पहिले प्रकाशित भएको विवरण पत्र राखी धितोपत्र निष्कासन गर्न सक्नेछ ।

यसमा बुझ्नुपर्ने पहिलो कुरा दफा २९ को उपदफा १ हो, जहाँ एक पटकमा ५० जनाभन्दा बढी व्यक्तिहरूलाई संस्थापक सेयर विक्री गर्ने हो भने सार्वजनिक सूचना प्रकाशन गर्नै पर्ने कुरा उल्लेख गरेको छ ।

तर यति एयरलाइन्सले आफ्नो संस्थापक सेयर विक्री गर्दा यस्तो सार्वजनिक सूचना नै जारी गरेको छैन, तर बैंकमै रकम डिपोजिट गर्न लगाएर ५० रुपैयाँ थप प्रिमियमसहित सेयर विक्री गरिरहेको छ ।

दोस्रो, दफा २९ को उपदफा ३ मा ‘सार्वजनिक निष्कासन हुने धितोपत्रको मूल्य तथा बाँडफाँड सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ’ हुनेछ भन्ने व्यवस्था रहेकामा उक्त दफाको बेवास्ता गर्दै प्रतिकित्ता १५० रुपैयाँका दरले कम्पनीले सेयर विक्री वितरण गरिरहेको छ ।

त्यसैगरी कम्पनी ऐन, २०६३ मा पनि पब्लिक कम्पनीले आफ्नो पुँजी बढाउन सेयर निष्कासन गर्नु परेमा कम्पनी ऐन र धितोपत्र ऐन तथा सम्बन्धित कानुनमा आधारित रही गर्नुपर्ने भनेको छ ।

यता धितोपत्र दर्ता तथा सञ्चालन नियमावली, २०७६ मा पनि पब्लिक कम्पनीले संस्थापक सेयर विक्री गर्दा पनि निश्चित नियम पालना गर्नुपर्ने उल्लेख गरेको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७६ को नियम २२ मा परिपत्र विधिबाट सेयर निष्कासन सम्बन्धी व्यवस्था उल्लेख गरेको छ ।

नियम २२ को उपनियम १ मा कुनै संगठित संस्थाले बढीमा ५० जना लगानीकर्तालाई लक्षित गरी चिठ्ठी पत्र वा कुनै विद्युतीय सञ्चार माध्यमको प्रयोग गरी परिपत्र विधिबाट धितोपत्रको विक्री गर्न सक्ने कुरा उल्लेख गरेको छ ।

यसको अर्थ बढीमा ५० जना वा सो भन्दा कमलाई मात्रै विक्री गर्न सकिने कुरा उल्लेख गरेको छ ।

सोही नियमको उपनियम २ मा यसरी परिपत्र विधिबाट धितोपत्र विक्री गर्नका लागि त्यस्तो संगठित संस्थाको साधारण सभाबाट सो सम्बन्धी निर्णय भएको हुनुपर्ने कुरा उल्लेख छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७६ कै नियम २३ मा परिपत्र विधिबाट धितोपत्रको निष्कासन गर्न पनि स्वीकृति लिनुपर्ने कुरा उल्लेख गरेको छ । नियम २३ मा ‘परिपत्र विधिबाट निष्कासन गर्न स्वीकृति लिनु पर्ने’ कुरा उल्लेख गर्दै के कसरी स्वीकृति लिएर के कसरी निष्कासन गर्न पाउने भन्ने कुरा उल्लेख गरेको छ ।

नियमावलीको नियम १ मा ‘संगठित संस्थाले परिपत्र विधिबाट धितोपत्र निष्कासन गर्ने स्वीकृतिका लागि अनुसूची-९ बमोजिमको ढाँचामा विवरण तयार गर्नु पर्नेछ’ भनी उल्लेख गरेको छ ।

सोही नियमको उपनियम २ मा ‘उपनियम (१) बमोजिम तयार गरिएको विवरणमा स्वीकृति प्राप्त गर्न नियम ४३ बमोजिमको प्रशोधन शुल्क बुझाएको भौचर संलग्न गरी बोर्ड समक्ष निवेदन दिनु पर्नेछ’ भनी उल्लेख गरेको छ ।

तर यति एयरलाइन्सले न सार्वजनिक सूचना प्रकाशन नै गरेको छ, न धितोपत्र बोर्डबाट कुनै स्वीकृति नै लिएको छ । तर पनि यति एयरलाइन्सले प्रतिकित्ता १०० रुपैयाँको किताबी मूल्यमा ५० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १५० रुपैयाँका दरमा यति एयरलाइन्सको सेयर प्रि-आइपिओका नाममा विक्री गरिरहेको छ ।

प्रि-आइपिओ भन्दै सेयर बेच्न पाइन्छ ?
नेपालको कानुनले क वर्ग वा सुरुवाती चरणका लगानीकर्तालाई बोनस सेयर वा हकप्रद सेयर बेच्न छुट दिएको भएपनि प्रि-आइपिओेका नाममा सर्वसाधारणलाई प्रिमियमसहित सेयर विक्रीका लागि अनुमति दिएको छैन ।

नेपाल धितोपत्र बोर्डले त यसअघि सार्वजनिक सूचना नै प्रकाशन गरी प्रि-आइपिओेका नाममा सेयर विक्री नगर्न र नगराउन भनेको थियो । प्रि-आइपिओे बेच्न नेपालको कानुनले नदिएको भन्दै यदि कसैले त्यस्तो गरेमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको थियो ।

तर यति एयरलाइन्सले भने यी सबै कानुनी व्यवस्थाको धज्जी उडाउँदै अहिले प्रतिकित्ता १५० रुपैयाँका दरले एक व्यक्तिले न्यूनतम ५ हजार कित्ता सेयर खरिद गर्नुपर्ने भनी प्रि-आइपिओे भन्दै सेयर विक्री गरिरहेको छ ।

आइपिओे व्यापारका लागि सिइओ सापकोटाको प्रवेश
यति एयर केही समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको थियो । यहीबिचमा व्यापारिक साझेदार खोजिरहेको यति एयरका लागि चार्टर एकाउन्टेन्ट सुभाष सापकोटाले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै एसियन लाइफ इन्सुरेन्सलाई यति एयरको सेयर खरिद गराउन सफल भए । यतिबेला यति एयरलाइन्सको कुल सेयरमध्ये ४७ प्रतिशत प्रतिकित्ता १०० रुपैयाँका दरको १ करोड २५ लाख कित्ता सेयर एसियन लाइफ इन्सुरेन्स कम्पनीसँग रहेको छ । बाँकी सेयरमध्ये २५ प्रतिशत लाक्पा सोनम शेर्पा, २० प्रतिशत चन्द्रा शेर्पा, ५ प्रतिशत नोर्वु छिरिङ शेर्पा र ३ प्रतिशत ग्रो क्यापिटल प्रालिको रहेको छ ।

अचम्म त के छ भने यति एयरलाइन्सको वित्तीय विवरणमा २० लाख ४ हजार ६०० रुपैयाँको सेयर अन्य व्यक्तिहरूको नाममा समेत रहेको भनिएको छ, तर प्रतिशत उल्लेख नै गरिएको छैन । अडिट रिपोर्टमा पेस गरिएको प्रतिशतमा केही गडबड देखिएको छ ।

खासमा सुरुमा एसियन लाइफ इन्सुरेन्सलाई यति एयरलाइन्सको सेयर खरिद गराउन मध्यस्थकर्ता (बिचौलिया)को काम उनै सुभाष सापकोटाले गरेका थिए । जब यति एयरलाइन्सको ४७ प्रतिशत सेयर एसियन लाइफले खरिद गर्‍यो, त्यसपछि एसियन लाइफ इन्सुरेन्सले उनै मध्यस्थकर्ता सुभाषलाई यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनाएर पठायो ।

सुभाषले सुरुदेखि नै कम्पनीले व्यापार गरेर नाफा कमाउने भन्दा पनि आइपिओमा गएर ठुलो रकम हात पार्न जसरी पनि आइपिओमा जाने गरी कागजात निर्माण गराएको पाइएको छ । सुभाष आफैँ चार्टर एकाउन्टेन्ट भएको कारण उनले केही वित्तीय विवरणमा समेत छेडखानी गराएको आशंका गरिएको छ ।

किनभने कम्पनीले देखाएको नाफामा केही अस्वाभाविक देखिन्छ भने लिमिटेड कम्पनीले आफ्ना कर्मचारीलाई १० प्रतिशत बोनस दिनुपर्ने भएपनि त्यो दिएको देखिँदैन । कम्पनीले दसैँ भत्ताबापत एक महिना बराबरको तलब बाँडेको जस्तो वित्तीय विवरणमा देखिए पनि त्यो पनि यकिन कति हो भन्ने खुल्दैन ।

यति एयरलाइन्समा सुभाषको प्रवेशसँगै डेढ वर्षभित्र आइपिओमा लैजाने भन्दै दौडधुप चलेको छ । आगामी आर्थिक वर्षको अडिट रिपोर्ट लगत्तै एयरलाइन्स सेक्टरबाटै पहिलो आइपिओ जारी गर्ने भन्दै उनी लागिपरेका छन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा नभई प्रतिकित्ता २४२ रुपैयाँमा एफपिओ जारी गर्ने तयारी समेत गरेको छ ।

एयरलाइन्सको खुद नाफा नै १३ प्रतिशत !
यति एयरले सार्वजनिक गरेको तथ्यांकमा उसको बजार हिस्सा २६ प्रतिशत रहेको दाबी गरेको छ । यद्यपि प्यासेन्जर सर्भिसका आधारमा हेर्दा यसको बजार हिस्सा करिब २० प्रतिशतको रहेको थियो । हाल एसियन लाइफ इन्सुरेन्सको प्रवेशसँगै जहाज थप गरेपछि यसको बजार हिस्सामा केही वृद्धि भने हुने छ ।

सामान्यतः अन्तर्राष्ट्रिय अभ्यास हेर्दा एयरलाइन्सहरूको खुद नाफा वार्षिक २ देखि ५ प्रतिशतको हाराहारी देखिन्छ । यो अन्तर्राष्ट्रिय प्रतिवेदन र अडिट रिपोर्टहरूले देखाएको कुरा हो ।

तर यति एयरलाइन्सले देखाएको कुद नाफामा टिकट विक्री लगायतबाट भएको आम्दानीमा करिब १३ प्रतिशत खुद नाफा देखाइएको छ ।

यति एयरलाइन्सले गत आर्थिक वर्षमा १० लाख जनालाई प्यासेन्जर सर्भिस दिँदा कुल ५ अर्ब ३९ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको उल्लेख छ । उक्त आम्दानीबाट सबै खर्च घटाएर कम्पनीले कुल ६७ करोड ८४ लाख ८८ हजार ६०३ रुपैयाँ कमाएको दाबी गरेको छ । यो कमाइलाई सबै खर्च कटाएर हेर्दा १२ दशमलव ५७ प्रतिशतको खुद नाफा देखिन्छ । खर्च र कमाइको हिसाबले हेर्दा यो अस्वाभाविक मात्रै छैन, अडिट रिपोर्टमै गोलमालको आशंका गरिएको छ ।

किनभने जहाजको डिप्रिसियसन अत्यन्तै कम देखाएको छ भने मर्मतको खर्च पनि कम नै देखाइएको छ । त्यसबाहेक कम्पनीले केही इन्जिन पनि भाडामा चलाइरहेको छ, तर त्यसको खर्च लगायतका विषयमा अस्पष्ट रिपोर्ट राखिएको छ ।

अघिल्लो आर्थिक वर्षमा केवल १६ करोड नाफा भएको कम्पनीले अर्को वर्षमा नै ६७ करोड नाफा गर्ने कुनै ठुलै काम पनि गरेको छैन । किनभने अघिल्लो आर्थिक वर्षमा ४ अर्ब १९ करोडको टिकट विक्री गरेकामा यस वर्ष ५ अर्ब ३९ करोडको टिकट विक्री गरेको हो । अघिल्लो वर्षको तुलनामा केवल २८ प्रतिशतले व्यापार बढ्दा खुद नाफामा करिब ४०० प्रतिशतको वृद्धि त्यति स्वाभाविक देखिँदैन ।

यी विविध तथ्यहरूले यति एयरलाइन्सको प्रि-आइपिओ विक्री गैर कानुनी र आइपिओकै व्यापारकै लागि भएकामा कुनै शंका छैन । त्यसबाहेक अन्तर्राष्ट्रिय स्तरमा एयरलाइन्स कम्पनीहरूको औसत मुनाफा ३ दशमलव ९ प्रतिशत रहँदा यति एयरलाइन्सको खुद नाफा करिब १३ प्रतिशत देखिनु पनि अस्वाभाविक नै देखिन्छ ।

नेकोन एयरले पनि पैसा उठाएर पछि टाट पल्टिएको थियो
त्यसो त यति एयरलाइन्सले एयरलाइन्स क्षेत्रबाट पहिलो सेयर जारी गर्न खोजिएको भन्ने दाबी गरे पनि त्यसमा सत्यता छैन । यसअघि सन् १९९२ मा स्थापना भई नेकोन एयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत समेत भएको थियो । कम्पनीले सन् १९९३/१९९४ मा ४ करोड २० लाख रुपैयाँ सर्वसाधारणबाट उठाएको केही रिपोर्टहरूमा उल्लेख छ । त्यतिबेला कम्पनीको चुक्ता पुँजी २ करोड १० लाख रुपैयाँ रहेको थियो । त्यसपछि २ करोड ६६ लाखको बोनस सेयर दिई चुक्ता पुँजी नै ४ करोड १० लाख बनाएको उल्लेख छ । केही रिपोर्टहरूमा तत्कालीन समयमै सेयर जारी गर्ने भन्दै १८ करोड रुपैयाँ उठाएको भनिएको छ ।

सन् १९९७।१९९८ मा पुग्दा कम्पनीको ऋण नै ३४ करोड ११ लाख पुगेको थियो । कम्पनी स्थापना भई नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भइसकेपछि पनि कम्पनीले सर्वसाधारणलाई एफपिओमा सेयर जारी गर्ने भन्दै बजार मूल्यभन्दा केही सस्तोमा सेयर विक्री गरेको दाबी गरिएको छ । तर व्यवस्थापकीय कमजोरीका कारण एयरलाइन्स निरन्तर घाटामा गएपछि सन् २००१ मा सांग्रिला एयर र कर्णाली एयरसँग मर्ज गरिएको थियो । सन् २००३ सम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार जारी रहँदा कम्पनीको सेयर त्यतिबेला नै प्रतिकित्ता ७०० रुपैयाँसम्म पुगेको थियो ।

तर पछि सन् २००३ मा कम्पनी नै चरम घाटामा गएपछि बन्द हुन पुग्यो । कम्पनीले त्यतिबेला नै विभिन्न बैंकहरुलाई तिर्नुपर्ने ऋणको सावाँ र ब्याज तिर्न सकेन भने नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ग्राउन्ड ह्याडलिङ शुल्क र नेपाल आयल निगमलाई इन्धनको शुल्क गरी २/२ करोड रुपैयाँ तिर्न बाँकी थियो । तर यी दुवै रकम तिर्न सकेन भने सर्वसाधारणबाट उठाइएको रकम पनि फिर्ता नै नगरी कम्पनी टाट पल्टियो ।

यता विमान भाडामा दिने कम्पनीले आफ्नो विमान फिर्ता लग्यो भने बैंकहरुले विमान बेचेर केही रकम पाए पनि नागरिक उड्डयन प्राधिकरण, नेपाल आयल निगम र एफपिओमा सेयर बेच्ने भन्दै उठाइएको सर्वसाधारणको रकम भने फिर्ता हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?