काठमाडौं । फागुन २१ को निर्वाचनका लागि धेरै क्षेत्रबाट चर्चित उम्मेदवारहरु चुनाी मैदानमा होमिए ।
कतिपय त स्थानीय तह र प्रदेशसभामा कार्यकाल बाँकी रहँदै राजीनामा दिएर संघीय निर्वाचनका लागि प्रतिपष्र्धामा होमिन पुगे ।
त्यसो त फागुन २१ को निर्वाचन गराउने म्याण्डेट पाएका सरकारका ४ वटा मन्त्रीहरु नै राजीनामा दिएर आफैँ नेता बन्ने होडमा लाग्दा आलोचना समेत भयो ।
काठमाडौं महानगरपालिकाबाट राजीनामा दिएका बालेन्द्र शाह ‘बालेन’ हुन् या धरान उपमहानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर मैदानमा उत्रिएका हर्कराज राई (हर्क साम्पाङ) यसका ज्वलन्त उदाहरण हुन् ।
गत स्थानीय चुनावमा दलहरुलाई चक्मा दिँदै धरानमा हर्क र काठमाडौंमा बालेन निर्वाचित हुँदा राजनीति तरंगित बनेको थियो ।
त्यति मात्र होइन, धनगढी उपमहानगरपालिकामा स्वतन्त्रबाटै गोपाल हमालले दलका उम्मेदवारहरुलाई पराजित गरेका थिए ।
त्यसबेला बालेन–हर्कसँगै गोपाल हमालको नाम आउने गरेको थियो । देशका मुख्य शहरहरुमा नै स्वतन्त्रको लहरपछि देशको राजनीति तरंगित बनेको थियो । तर फागुन २१ को निर्वाचनमा हर्क आफ्नै पार्टी खोलेर त बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भएर होमिएका छन् । तर हर्क बालेन भन्दा फरक देखिए गोपाल हमाल । कामको बढी प्रचार भन्दा जनताको मुद्दालाई केन्द्रमा राखेर काम गर्ने मेयरका रुपमा परिचित हमालले आफू जनताको मान्छे बन्न कुनै पार्टीमा नलागेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ’ लेखेका छन् ।
स्थानीय तहमा ५ वर्ष काम गर्ने वाचा गरेर निर्वाचित मेयरहरुले कार्यकाल बाँकी रहँदै राजीनामा दिएर पदका लागि लालायित देखिएको भन्दै आलोचना भइरहेको छ । तर हमालले भने आफूले जनता रोजेको भन्दै नयाँ सन्देश दिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया