काठमाडौं । नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा पर्दै गएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले हाल विश्वव्यापी अव्यवस्था (इन्टरनेशनल डिसअर्डर) ले नेपालको राजनीति, अर्थतन्त्रलगायत विभिन्न क्षेत्रमा प्रभाव पारिरहेको र यो प्रभाव आगामी दिनमा अझ गम्भीर बन्दै जाने चेतावनी दिए ।
डा.भट्टराईले ठुला राजनीतिक दलहरू समस्यामा परेपछि विदेशी हस्तक्षेप वा षड्यन्त्र देख्ने प्रवृत्तिलाई सामान्यीकरण गर्न खोजिएको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा सत्य मान्न नसकिने बताए । उनका अनुसार अहिलेको अन्तर्राष्ट्रिय परिवेशमै शक्ति सन्तुलन भत्किँदै गएको छ, जसको प्रत्यक्ष असर नेपालमा पर्न थालेको छ ।
‘हामी अत्यन्त फरक खालको अन्तर्राष्ट्रिय परिस्थितिमा प्रवेश गरिसकेका छौँ,‘उनले भने, ‘यसको राजनीतिक असर नेपालमा परेको छ कि छैन भन्नेबारे बहस भइरहे पनि प्रभाव पर्न थालिसकेको छ । हाम्रो भौगोलिक अवस्थिति नै अन्तर्राष्ट्रिय शक्ति तानातानको केन्द्रतर्फ धकेल्ने खालको छ ।’
डा.भट्टराईले अहिले विश्व राजनीतिमा देखिएको अव्यवस्थालाई हेलचेक्र्याइँ गरेमा त्यसको परिणाम छिट्टै देखिने चेतावनी दिँदै भने, ‘इन्टरनेशनल डिसअर्डर जसरी भत्किँदै गएको छ, त्यसको असर नेपालमा अझ गहिरो रूपमा पर्ने वाला छ । यसभित्रैबाट विभाजन सुरु भइसकेको छ ।’
उनले नेपालको भौगोलिक अवस्थिति र रणनीतिक महत्वका कारण अन्तर्राष्ट्रिय शक्तिहरूको प्रभाव र प्रतिस्पर्धा बढ्दै गएको भन्दै राज्य, राजनीतिक दल र समाजले यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया