काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबारदेखि माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जाने भएका छन् । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति ११ः३० बजे नेपाल एयरलाइन्सको उडानबाट जापान प्रस्थान गर्नेछन् । भ्रमण सकिएपछि उनी माघ २१ गते दिउँसो ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा माघ १९ गते राष्ट्रपति पौडेल नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारले आयोजना गर्ने विशेष स्वागत समारोहमा सहभागी हुनेछन् । माघ २० गते उनले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग शिष्टाचार भेट गर्नेछन् ।
त्यसै दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री ताकाइची सानाएबीच भेटवार्ता हुने कार्यक्रम छ । साथै, जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया