काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निर्वाचन गराउनेतर्फ गम्भीर नरहेको आरोप लगाएका छन् ।
नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले अहिलेसम्म देशका लागि एउटा पनि राम्रो काम नगरेको आरोप लगाएका हुन् ।
सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन व्यवहारिक नभएको भन्दै उनले उच्च हिमाली तथा पहाडी क्षेत्रमा चुनाव गराउन असम्भवजस्तै रहेको दाबी गरे । ‘सरकार नराम्रो कामको डंगुर बनेको छ,‘ उनले भने, ‘जन्मिँदै देशमा अनेक किसिमका उपद्रव मच्चाएको छ ।’
अध्यक्ष ओलीले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन उच्च हिमाली तथा पहाडी क्षेत्रमा व्यवहारिक नभएको जिकिर गरे । निर्वाचनको मिति तोकिए पनि यसको कार्यान्वयन शंकास्पद रहेको उनको भनाइ थियो । शहरी क्षेत्रमा जस्तो हिमाली र पहाडी भूभागमा निर्वाचनको प्रभाव नपर्ने र त्यहाँ मतदाताको सहभागिता न्यून हुने उनले बताए ।
उनले भने, ‘हिमाली भेगमा अहिले मानिस नै छैनन् । यस्तो समयमा भोट खसाल्न को जान्छ ? मान्छे नभएको ठाउँमा बाक्सा राखेर के हुन्छ ? चार हजारले भोट हाल्नुपर्ने ठाउँमा चार जनाले भोट हालेर बाक्सा फर्काउँदा चुनाव भएको मानिन्छ ?’
अध्यक्ष ओलीले सरकारले चुनावलाई ‘नाटक’ का रूपमा अगाडि बढाइरहेको आरोप पनि लगाए । उनका अनुसार राजनीतिक दलहरू बलियो रहेको उच्च पहाडी तथा हिमाली क्षेत्रमा बेवास्ता गर्दै शहरी केन्द्रित सोचका आधारमा निर्वाचन गर्न खोजिएको छ ।
‘राजनीतिक दल, गतिविधि र नेताको विरोध गर्नेहरूले आफैँ खराब राजनीति र गतिविधि गरिरहेका छन्, ‘ओलीले भने, ‘आरोप र अपराधका चाङमा उभिने खालका काम गरिँदैछ ।’
अध्यक्ष ओलीले राजनीतिक दलहरू बलियो रहेको भूभागलाई उपेक्षा गरेर गरिने निर्वाचनले लोकतान्त्रिक मान्यता कमजोर बनाउने चेतावनीसमेत दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया