काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बु संसारकै सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको जिल्ला भएकाले यहाँको निर्वाचन परिणामले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय महत्त्व राख्ने बताएका छन् ।
सोलु–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा बोल्दै दाहालले सोलुखुम्बुमा कुन पार्टी र कुन नेताले जित्छ भन्ने विषयलाई संसारले चासोका साथ हेर्ने बताए ।
उनले सोलुखुम्बुका मतदातालाई नेकपा उम्मेदवार असिम राईलाई तारा चुनाव चिन्हमा अत्यधिक मतसहित विजयी गराउन आग्रह गरे । असिम राईलाई जिताएर पठाएमा सोलुखुम्बुको समग्र विकासका लागि आवश्यक सबै काम आफूले गर्ने दाबी पनि दाहालले गरे ।
दाहालले सोलुखुम्बुको विकासका लागि सडक सञ्जाल विस्तार, पर्यटन प्रवर्द्धन, पर्वतारोहण व्यवस्थापन तथा अन्तर्राष्ट्रियता ऊर्जा शक्तिको विकासलगायत क्षेत्रमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
‘सोलुखुम्बु संसारको सबैभन्दा अग्लो शिखर सगरमाथाको काखमा रहेको जिल्ला हो । यहाँको निर्वाचन परिणामले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय अर्थ पनि राख्छ,‘उनले भने, ‘रेकर्ड बनाउने गरी असिम राईलाई अत्यधिक बहुमतसहित विजयी गराउनुस् । उहाँलाई जिताएर पठाउनुभयो भने सोलुखुम्बुको विकासका लागि के गर्नुपर्छ, म गर्नेछु ।’
कार्यक्रममा दाहालले जेनजी आन्दोलनपछि वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता महसुस गरी एकताको प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनले नेकपामा विभिन्न २३ वटा घटक एकत्रित हुने अवस्थामा पुगेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया