काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रणालीगत सुधारका लागि सही कानुन र स्पष्ट प्रक्रिया आवश्यक रहेको बताएका छन् । स्टन्ट र चटक देखाएर सुधार सम्भव नहुने उनको भनाइ छ ।
शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ का पार्टी कार्यकर्ताहरूसँगको भेटघाटमा बोल्दै सभापति थापाले सार्वजनिक संस्थाहरूमा हुने आर्थिक कारोबार पारदर्शी बनाउन जादु, चटक वा स्टन्टले होइन, ठोस कानुन र प्रक्रिया निर्माणमार्फत मात्र सम्भव हुने स्पष्ट पारे ।
उनले नेपाली कांग्रेस प्रणाली र प्रक्रियामार्फत सुधारमा विश्वास गर्ने पार्टी भएको उल्लेख गर्दै विश्वविद्यालय तथा संवैधानिक निकायमा हुँदै आएको भागबण्डा अन्त्य गर्ने प्रतिबद्धता जनाए । साथै, निजामती सेवामा हुने राजनीतिकरण पनि बन्द गरिने बताए ।
‘हाम्रा सार्वजनिक संस्थाहरू र निकायहरूबाट हुने कुनै पनि आर्थिक लेनदेन नहोस् भन्ने चाहना हामी सबैको हो,‘उनले भने, ‘तर त्यसका लागि ‘म जादु गर्छु, चटक देखाउँछु, डण्डा बोकेर जान्छु’ भनेर हुँदैन । सिस्टम बनाउनुपर्छ, ठिक कानुन र प्रक्रिया बनाउनुपर्छ। कांग्रेस यही कुरामा विश्वास गर्छ ।’
उनले सुधार र सुशासनमार्फत ठोस परिणाम दिन कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक योजना तयार पारिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया