काठमाडौं । अमेरिकाले सेप्टेम्बर ३० सम्मका लागि करिब ६५ हजार थप ‘एच–२बी’ मौसमी कामदार भिसा उपलब्ध गराउने भएको छ ।
फेडरल रजिस्टरमा प्रकाशित सूचना अनुसार, अमेरिकी कामदारको अभावका कारण गम्भीर आर्थिक संकटको जोखिममा रहेका रोजगारदाताहरूलाई यी भिसा उपलब्ध गराइनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अनुसार यो कदमले निर्माण, हस्पिटालिटी (होटल तथा सत्कार), ल्याण्डस्केपिङ र सीफुड प्रोसेसिङ जस्ता व्यवसायका लागि प्रत्येक वर्ष उपलब्ध हुने ६६ हजार भिसाको संख्यालाई झण्डै दोब्बर बनाउने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यी क्षेत्रका अमेरिकी रोजगारदाताहरूलाई कामदार पाउन गाह्रो भइरहेको कुरालाई यस निर्णयले स्वीकार गरेको छ ।
रिपब्लिकन नेता ट्रम्पले सन् २०२५ मा ह्वाइट हाउस फर्किए लगत्तै अध्यागमन विरुद्ध व्यापक कारबाही सुरु गरेका थिए । उनले कानुनी हैसियत नभएका आप्रवासीहरूलाई अपराधी र समुदायका लागि बोझको रूपमा चित्रण गर्दै आएका छन् । उनको प्रशासनले व्यापक यात्रा प्रतिबन्ध तथा शरणार्थी र शरण सम्बन्धी मुद्दाहरूको पुनरावलोकन गर्दै कानुनी अध्यागमनका कतिपय स्वरूपहरूमा पनि कडाइ गरेको छ ।
भिसाको संख्या पूर्व राष्ट्रपति जो बाइडेन र ट्रम्पको अघिल्लो कार्यकाल (२०१७–२०२१) मा पनि थप गरिएको थियो । होटल लगायत मौसमी व्यवसायका रोजगारदाताहरूले थप भिसाका लागि माग गर्दै आएका थिए । ट्रम्पको आक्रामक अध्यागमन कारबाहीका कारण कतिपय निर्माण व्यवसायीहरूले कामदारको अभाव भएको गुनासो गरेका छन् ।
अध्यागमनको संख्या घटाउनुपर्छ भन्ने समूहहरूले भने यी भिसाको विरोध गरेका छन् । उनीहरूका अनुसार, यो निर्णयले अमेरिकी कामदारहरूको पारिश्रमिक घटाउने काम गर्छ ।
यसैबिच, ट्रम्पले ‘एच–वानबी’ कार्यक्रम मार्फत कामदार भित्र्याउन प्राविधिक कम्पनीहरूलाई कठिन बनाइदिएका छन् । उनले यसमा १ लाख डलर शुल्क थपिदिएका छन्, जसका कारण कानुनी चुनौती समेत सिर्जना भएको छ ।
थप ‘एच–२बी’ भिसा उपलब्ध गराउने सम्बन्धी अस्थायी नियम मंगलबार फेडरल रजिस्टरमा औपचारिक रूपमा प्रकाशित हुने सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया