काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पार्टी र पुरानो पार्टीबीचको भिन्नता केवल अनुहारको होइन, विचार, दृष्टिकोण र प्रतिबद्धतामा हुने बताएका छन् ।
शनिबार काठमाडौं निर्वाचन क्षेत्र–४ मा पार्टी कार्यकर्तासँगको भेटघाटमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै भने, ‘निर्वाचन जित्ने उद्देश्यका लागि हिजो दायाँ बायाँ फर्किएका पात्रहरु एकै ठाउँमा जम्मा भएका छन् । केवल चुनाव जित्ने उद्देश्य लिएर मात्रै जम्मा हुनु नयाँपन होइन। नयाँ पार्टी भनेको दृष्टिकोण, कमिटमेन्ट र प्रतिबद्धता भएको पार्टी हो ।’
सभापति थापाले थपे, ‘पुरानो नयाँको भेद केवल शब्दमा छैन, देश सम्हाल्ने दृष्टिकोण र प्रतिबद्धतामा छ । कांग्रेस नै अहिलेको सबैभन्दा नयाँ पार्टी हो । महाधिवेशनपछि कांग्रेस नयाँ ऊर्जासहित अघि बढेको छ। देश बनाउन सुझबुझ, धैर्यता, चेतना र जिम्मेवारी आवश्यक छ, र यही शक्ति कांग्रेससँग छ ।’
उनले कार्यकर्तालाई घर घर गएर यही सन्देश पुर्याउन आग्रह गर्दै भने, ‘देश बनाउन केवल आगो लगाउन सक्ने शक्ति पर्याप्त छैन । नयाँ खोज्ने हो भने आजको दिनमा कांग्रेसभन्दा नयाँ पार्टी छैन । कांग्रेससँग सपना, ऊर्जा र प्रतिबद्धता छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया