काठमाडौं–४ का कांग्रेस उम्मेदवार तिमलसेना भन्छन्– ‘राम मिसनमा गएका छन्, म भरत बनेर अयोध्या सम्हाल्छु’

लोकपथ
217
Shares

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सचिन तिमलसेनाले रोजगारीको अवसर सिर्जना र युवालाई उद्यमशीलतामा नजोडेसम्म विदेश पलायन रोक्न नसकिने बताएका छन् ।

शनिबार काठमाडौं–४ का कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै उनले युवाले रोजगारी नपाएर विदेश जानुपर्ने अवस्था अन्त्य गर्न आफू प्रतिबद्ध भएर काम गर्ने बताए । ‘रोजगारी र उद्यमशीलतामा ठोस पहल नगरेसम्म युवा देशमै टिक्दैनन्, ‘उनले भने ।

तिमलसेनाले युवा रोजगारीलाई प्राथमिकतामा राखेर विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए । उनले यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद गगनकुमार थापा विशेष कारणले ‘मिसन’मा गएको उल्लेख गर्दै आगामी पाँच वर्ष आफू ‘भरत’ बनेर काठमाडौं–४ (अयोध्या) लाई सम्हाल्ने दाबी गरे ।

प्रतिनिधि सभा निर्वाचनमा विजयी भएर संसद् प्रवेश गरेपछि गगन थापालाई प्रधानमन्त्री बनाउने महाअभियानको दरिलो मियोका रूपमा आफू उभिने उनको भनाइ छ । ‘यो क्षेत्र अयोध्या हो, राम मिसनमा जानुभएको छ। म भरत बनेर पाँच वर्ष यो क्षेत्र सम्हाल्नेछु,‘उनले भने ।

उनले काठमाडौं–४ ले देशलाई सक्षम र अब्बल सांसद दिएको स्मरण गराउँदै खानेपानी समस्यालगायत विकास–निर्माणका काममा आफ्नो ध्यान केन्द्रित रहने बताए । साथै, युवालाई उद्यमशीलतामा जोड्न पहिलोपटक व्यापार सुरु गर्ने नवयुवालाई दुई वर्षसम्म कर माफ गर्ने किसिमको कानून ल्याउने पहल गर्ने दाबी गरे ।

‘रोजगारी नपाएर विदेश जानुपर्ने अवस्था नआओस् भन्नेमा मेहनतका साथ काम गर्नेछु,‘तिमलसेनाले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?