खगेन्द्र सुनारका विषयमा बोल्यो रास्वपा

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नै पूर्ववत अभिव्यक्तिका कारण विवादमा तानिएका खगेन्द्र सुनारलाई सचेत गराएको छ ।

रास्वपाबाट बाँके क्षेत्र नं ३ का उम्मेदवार बनेका खगेन्द्रले यसअघि ‘गाई काटेर खान पाउनुपर्छ’ भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

सो विषयमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति नै जारी गरेर आफूहरुले त्यसबारेमा सचेत गराएको बताए ।

त्यसो त केही दिनअघि खगेन्द्रले आफू शाकाहारी रहेको र आफू हत्या हिंसाको पक्षमा नरहेको भन्दै क्षमायाचना समेत मागेका थिए ।

‘खगेन्द्र सुनारले रास्वपामा जोडिनु अगाडि व्यक्त गर्नुभएका अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना गरिसक्नुभएको छ । उहाँले सार्वजनिक रूपमै आफू ‘शाकाहारी भएको, कुनै पनि पशुपंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेकोू प्रष्ट पारिसक्नुभएको छ । सामाजिक सञ्जालमा व्यक्त केही प्रसङ्गहरूलाई तोडमोड गरी प्रचार समेत गरिएको भए तापनि, त्यसबाट उत्पन्न भ्रम र ठेस पुगेको भावनाप्रति उहाँले क्षमायाचना गर्दै आत्मलोचना समेत गर्नुभएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले उम्मेदवार सुनारलाई सोसम्बन्धमा सचेत गराउनुका साथै भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको छ । उहाँको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतिकको अपमान गर्ने नभएको कुरामा पार्टी आश्वस्त छ ।’

त्यस्तै रास्वपा कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि वा सामाजिक सद्भाव बिगार्ने तत्वहरुको पक्षमा नरहेको समेत महामन्त्री बुर्लाकोटीले जनाएका छन् । साथै आफूहरु केवल चुनाव जित्नका लागि मात्रै प्रतिष्पर्धा नगरेको बरु संसदमा रचनात्मक भूमिका निर्वाह गर्ने र धर्मिक तथा सामाजिक सदभाव कायम राख्दै सर्वपक्षीय समावेशी समाज निर्माणको अभियानमा अडिग रहने समेत विश्वास व्यक्त गरिएको छ ।

‘रास्वपा कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि वा सामाजिक सदभाव बिगार्ने तत्वहरूको पक्षमा छैन र रहने छैन । हाम्रा उम्मेदवारहरू केवल चुनाव जित्नका लागि मात्र होइन, भोलिको संसदमा संयमित, मर्यादित र देशको विधि–विधानलाई सम्मान गर्ने नेतृत्वका रूपमा उभिनेछन् भन्नेमा हामी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विश्वास दिलाउन चाहन्छौंँ,’ महामन्त्री बुर्लाकोटीले भनेका छन्, ‘रास्वपा सधैं विधिको शासन, सामाजिक न्याय, धर्मिक तथा सामाजिक सदभाव कायम राख्दै सर्वपक्षीय समावेशी समाज निर्माणको अभियानमा अडिग रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?