जेनजी आन्दोलनको राप र तापमा हुन लागेको फागुन २१ को निर्वाचन नजिकिँदो छ । यसअघिका भन्दा यो पटकको निर्वाचनमा फरक परिदृश्य देखिएका छन् । प्रायः निर्वाचन क्षेत्रमा नयाँ उम्मेदवारहरुका कारण चर्चा चुलिरहेको देखिन्छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र झण्डै दुई दर्जन वाम शक्तिहरुको मिलनबाट बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जस्ता पुराना दलहरुले समेत धेरै क्षेत्रमा युवा र नयाँ उम्मेदवारलाई अघि सारेका छन् । जसका कारण राजनीतिमा नयाँ पात्रहरुको समेत शक्तिको जाँच हुँदैछ ।
पूराना दलहरुले समेत उम्मेदवार अदलीबदली गर्दा नयाँ दल र चर्चित अनि नयाँ पात्रहरु मैदानमा ओर्लिँदा यसपटकको निर्वाचन थप रोचक बन्ने देखिन्छ ।
अहिले त्यस्तै चर्चामा काठमाडौं क्षेत्र नं ३ को निर्वाचन । जहाँ एक दशकदेखि सर्वाधिक चर्चामा रहेका पात्र कुलमान घिसिङदेखि सोही क्षेत्रमा स्थानीय तहबाट काम गरेर आएका नेताहरु चुनावी प्रतिष्पर्धामा रहेका छन् । इतिहास हेर्ने हो भने काठमाडौंको सो क्षेत्र उम्मेदवार र प्रतिनिधि बदलिरहने क्षेत्र हो । कुनै क्षेत्रमा एकै नेता लामो समयसम्म निर्वाचित हुँदै आइरहे पनि सो क्षेत्र भने अपवाद बनेको छ ।
लामो समयसम्म एमालेको प्रभाव रहेको काठमाडौं–३ मा २०७९ सालको निर्वाचनमा भने नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी भए । यससँगै यो क्षेत्र ‘नतिजा बदलिरहने क्षेत्र’ को रूपमा फेरि एकपटक चर्चामा आएको थियो ।
मतदाताले परम्परागत धारणा तोड्दै नयाँ निर्णय गर्ने प्रवृत्ति यहाँ बारम्बार देखिँदै आएको छ ।
यसपटक उक्त क्षेत्र थप चर्चामा हुनुको कारण हो, कुलमान घिसिङ । देशमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर काठमाडौंलाई उज्यालो बनाएको जस पाएका उनै कुलमान अन्तरिम सरकारमा बसेर केही महिना काम गरे । निर्वाचन नजिकिँदै जाँदा पार्टी नै खोलेर चुनावी मैदानमा होमिएका कुलमानको पार्टी र उनको राजनीतिक जीवनको पनि परीक्षाको घडी यही निर्वाचन हुने देखिन्छ ।
उक्त क्षेत्रमा नेकपा एमालेबाट पूर्व संविधानसभा सदस्य रामेश्वर फुयाँल, नेपाली कांग्रेसबाट पूर्व वडाध्यक्ष समेत रहेका स्थानीय नेता रमेश अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं महानगरपालिकाका पूर्व प्रहरी प्रमुख राजुनाथ पाण्डे चुनावी मैदानमा छन् । यता नेकपाबाट निरज लामा चुनावी मैदानमा होमिँदा चुनावी माहोल थप रोचक बन्दै गइरहेको छ ।
इतिहास हेर्ने हो भने सो क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेले पालैपालो जित्दै आइरहेको क्षेत्र हो ।
२०६४ साल चैत २८ गते भएको पहिलो संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसबाट चक्रबहादुर ठकुरी निर्वाचित भएका थिए । ठकुरीले नेकपा एमालेका रामेश्वर फुँयाललाई पराजित गर्दै जित निकालेका थिए । फेरि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा उनै फुयाँलले ठकुरीलाई हराउँदै जित निकालेका थिए ।
२०७४ को निर्वाचनमा भने कांग्रेसबाट उम्मेदवार बनेकी अम्बिका बस्नेतलाई पराजित गर्दै एमालेका कृष्णबहादुर राई निर्वाचित भएका थिए । तर ०७९ को निर्वाचनमा भने कांग्रेसले पुनः नतिजा उल्ट्यायो । गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर समेत रहेका सन्तोष चालिसेले राईलाई पराजित गर्दैै नतिजा उल्ट्याएका थिए ।
निरन्तर नयाँ अनुहारलाई जिताएको काठमाडौं–३ मा यसपटक अनुहार मात्र नयाँ नभएर दल नै नयाँ र चर्चित पात्रहरु समेत मैदानमा उत्रिएका छन् । जसले गर्दा निर्वाचनको माहोल थप रोचक बन्ने देखिन्छ । एकातिर उनै कांग्रेस एमालेका उम्मेदवार अर्कोतिर कुलमान जस्ता चर्चित पात्र चुनावी मैदानमा छन् ।
त्यसो त कुनै बेला काठमाडौं महानगरमा रहँदा तत्कालीन काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) का दाहिने हात देखिएका राजु पाण्डे समेत त्यहाँबाट उम्मेदवार छन् । सिंगम स्टाइलमा काम गर्ने पाण्डे स्वयंप्रति तल्लो तहका नागरिकहरु सन्तुष्ट नभए पनि रास्वपामा देशभर देखिएको माहोलले समेत त्यहाँको नतिजामा केही प्रभाव पार्न सक्ने देखिन्छ ।
अहिलेसम्म कुनै उम्मेदवारलाई दोहोर्याएर नजिताएको, कांग्रेस–एमालेकै वर्चस्व रहेको उक्त क्षेत्रमा कुलमानदेखि राजु पाण्डेसम्मको राजनीतिक परीक्षण हुनेछ । साथसाथै आम रुपमा पुराना दलहरुप्रति वितृष्णा देखिएको अवस्थामा त्यस क्षेत्रमा कांग्रेस–एमालेका नेताहरुसँग जनता कतिको सन्तुष्ट छन् त्यो पनि देखिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया