शहीद दिवसमा कांग्रेस र नेकपाले समेट्यो जेनजी आन्दोलन : एमाले र रास्वपाको बेवास्ता

लोकपथ
329
Shares

काठमाडौं । मुलुकमा राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि सहादत प्राप्त गर्ने शहीदहरुको स्मरण गर्दै माघ १६ गते देशभर शहीद दिवस मनाइन्छ ।

धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गंगालाल श्रेष्ठसहित विभिन्न कालखण्डमा शहीद भएकाहरुप्रति यसै दिन स्मरण गरिन्छ ।

हालैको जेनजी आन्दोलनपछि सरकारले ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गर्‍यो । जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको भए पनि सरकारले ४५ जनालाई मात्रै शहीद घोषणा गरेको र अन्यको बारेमा अध्ययन भइरहेको सरकारले जनाएको छ ।

तरोताजा जेनजी शहीदहरुका बारेमा भने राजनीतिक दलहरुले बेवास्ता गरेका छन् ।

नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाहेक अन्य दलहरुले भने त्यसलाई पूर्ण रुपमा बेवास्ता गरेका हुन् ।

कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार बिहान शहीद दिवसको शुभकामना दिँदै राणा शासन अन्त्यदेखि जेनजी विद्रोहसम्मका शहीदहरुलाई स्मरण गरे ।

‘नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ को ‘जेनजी’ विद्रोहसम्म, इतिहासका विभिन्न कालखण्डमा भएका समस्त आन्दोलन र संघर्षहरुमा आफ्नो अमूल्य जीवन आहुती दिनुहुने सम्पूर्ण वीर शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । उहाँहरुले आफ्नो जीवन देश र जनताका लागि समर्पण गरेकै कारण आज हामी स्वतन्त्रताको युगमा श्वास फेर्न पाइरहेका छौँ,’ सभापति थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यता तत्कालीन सरकार प्रमुख समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि शहीद दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गरे, शुभकामना दिए । तर उनले हालैको जेनजी विद्रोहबारे कुनै चासो देखाएनन् ।

‘निरङ्कुश र जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीऊ त्यसरी रोपिएको थियो । कम्युनिस्ट र कांग्रेसको संयुक्त आन्दोलनको उपज हो, आज समाजले पाएको लोकतान्त्रिक अधिकार । यस ऐतिहासिक विरासतलाई स्मरण गर्दै अमर शहीदहरू दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । अमर शहीदहरूका बलिदानको मूल्यलाई हामी कहिल्यै भुल्ने छैनौँ, हाम्रो राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्ने छौँ,’ उनले भनेका छन् ।

यता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भने शहीद दिवसमा जेनजी विद्रोहलाई समेत समेटेको छ । नेकपाले राणा शासन अन्त्यदेखि विभिन्न आन्दोलन हुँदै जेनजी विद्रोहसम्म सहादत प्राप्त गर्ने शहीदहरुको स्मरण गरेका हुन् ।

‘नेपालको परिवर्ततको इतिहास शहीदहरुको रगतले लेखिएको इतिहास हो । सामन्ती राणा शासनविरुछ लखन थापा, बाँकाबीरदेखि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको बलिदानी, किसानका पक्षमा भीमदत्त पन्तको संघर्ष, पञ्चायती कालदेखि जनयुद्ध, जनआन्दोलन, मधेश थारु लगायतका समुदायका आन्दोलन र पछिल्लो जेनजी आन्दोलनका शहीदहरुको बलिदानको साझा उदेश्य सामन्तवाद, उत्पीडन र विभेदको अन्त्य गर्दै लोकतन्त्र, समानता, न्याय र जनताको सुशासन स्थापना गर्नु थियो,’ जारी विज्ञप्तिमा भनिएको छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने शहीदहरुप्रति श्रद्धाञ्जली दिए पनि जेनजी आन्दोलनबारे बोलेको छैन । साथै शहीदहरुले देखेको सपना पूरा गर्न आफ्नो पार्टी नेतृत्वको सरकार गठन भएर मात्रै सम्भव रहेको रास्वपाको दाबी छ ।

‘शहीदको बलिदानको वास्तविक सम्मान भनेकै राष्ट्रिय स्वाभिमान र एकताको अभिवृद्धि तथा जनअपेक्षाको यथोचित सम्बोधन हो । जनउत्तरदायी राज्य, विधिको शासन र कर्मशील नागरिकको संयोजनबाट मात्रै राष्ट्रिय संकल्प र शहीदका सपना पूरा गर्न सकिन्छ भन्ने मान्यतामा हामी दृढ छौँ,’ रास्वपाले भनेको छ, ‘अन्त्यमा ज्ञात–अज्ञात सम्पूर्ण शहीदका अधुरा सपना पूरा गर्ने र नागरिकका आकांक्षालाई वास्तविकतामा बदल्ने गरी रास्वपाको नेतृत्वमा अघि बढ्ने सुशासन र समृद्धिको मार्गमा एकाकार हुन शहीद दिवसले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गरोस् भन्ने कामना गर्दछौँ,’ रास्वपा उपसभापति डोलप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आज शहीद दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी शहीदहरुको स्मरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?