काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापाले देश सञ्चालनका लागि व्यक्ति (पात्र) भन्दा स्पष्ट, व्यवहारिक र जिम्मेवार एजेण्डा आवश्यक रहेको बताएका छन् ।
शुक्रबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष थापाले मुलुकको राजनीतिक बहस व्यक्तिकेन्द्रित बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै एजेण्डा केन्द्रित बहस आवश्यक रहेकोमा जोड दिए ।
उनले नेपालको वर्तमान संघीयता मोडेल त्रुटिपूर्ण रहेको उल्लेख गर्दै संघीय संरचना र संविधानमा रहेका कमजोरी सच्याउनुपर्ने बताए । संविधान संशोधन आवश्यक भए पनि त्यो केवल संवैधानिक प्रक्रियाबाट मात्र सम्भव नहुने भन्दै राजनीतिक सहमतिका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष थापाले राष्ट्रिय सहमतिका आधारमा संविधान पुनर्लेखन गर्न सकिने धारणा राख्दै पुनर्लेखनमार्फत संविधानका सकारात्मक पक्ष जोगाउँदै कमजोरी हटाउने र आवश्यक विषय थप्न सकिने बताए ।
उनले पाँच वर्षभित्र भ्रष्टाचार निर्मूल पार्ने राष्ट्रिय नीति आवश्यक रहेको उल्लेख गर्दै मुलुकलाई आत्मनिर्भर बनाउन औद्योगिकीकरण अपरिहार्य भएको बताए ।
‘संघीयताको अहिलेको मोडेल त्रुटिपूर्ण छ । हामी संविधान फाल्ने पक्षमा छैनौँ, तर संशोधन र पुनर्लेखनमार्फत सुधार गर्नुपर्छ, ‘उनले भने, ‘राष्ट्रिय सहमति भए संविधान पुनर्लेखन सम्भव छ एजेण्डामा खुलेर बहस गरौँ । देशलाई एजेण्डा चाहिएको हो, पात्र होइन ।’
अध्यक्ष थापाले चुनावी घोषणापत्र कार्यान्वयन नगर्ने उम्मेदवार वा दललाई कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै प्रतिबद्धता पूरा नगरे अदालतमा प्रश्न उठाउन सकिने व्यवस्था आवश्यक रहेको बताए । उनले ‘राइट टु कोर्ट’ को अवधारणा अघि सारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया