शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढौँ : सुनिता डंगोल

लोकपथ
56
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएकी छन् ।

शहीद दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै डंगोलले शहीदहरूले दिएको बलिदानको आधारमा आजको शासन, स्वतन्त्रता र स्वाधीनता सम्भव भएको बताइन् । उनले नागरिक अधिकार, समावेशिता र समावेशीकरणको अभ्यास शहीदहरूको बलिदानकै परिणाम भएको स्मरण गराइन् ।

कार्यवाहक प्रमुख डंगोलले शहीदहरूको बलिदानबाट राजनीतिक नेता, कार्यकर्ता र आम नागरिकले प्रेरणा लिन सक्नुपर्ने बताए । 

उनले भनिन्, ‘जहाँनिया राणा शासनको अन्त्य र जनताको स्वतन्त्रता, स्वाधीनताका लागि शहीदहरूले बलिदान दिनुभयो। त्यही बलिदानको आधारमा हामी आज लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास गर्दैछौं । यो उपलब्धि युवाहरूका लागि त्याग र समर्पण सम्झाउने दिन पनि हो ।’

डंगोलले काठमाडौं महानगरपालिकाको संयोजकत्वमा शहीद सप्ताहका क्रममा स्मृति सभा र विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका जानकारी दिइन् । माघ १० गते शहीद शुक्रराज शास्त्रीको शहादतस्थल टेकु पचली, माघ १३ गते धर्मभक्त माथेमाको शोभा भगवती, र माघ १५ गते शहीद दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सिफलस्थित शहादतस्थलमा श्रद्धाञ्जली सभाको आयोजना गरिने बताइन् ।

शहीदहरूको सम्झनामा चार वीर सहिदको पूर्ण कदको शालिक निर्माण र धर्मभक्त माथेमाको जन्मथलो ओन्वालमा धर्मभक्त पार्क निर्माण गरिएको जानकारी दिँदै डंगोलले महानगरपालिकासँगको सहकार्यमा निर्माण गर्न लागिएको मानव सेवा आश्रमको नाम धर्मभक्त माथेमा राखिने पनि बताइन् ।

कार्यवाहक प्रमुख डंगोलले शहीदहरूलाई दिन विशेष सम्झना मात्र नगरी, उनीहरूबाट ऊर्जा लिएर शासन र व्यवस्थामा दैनिक प्रभाव देखिने गरी काम गर्नुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?