काठमाडौं । पर्यटकीय राजधानी पोखरामा यही माघ १७ देखि २४ गतेसम्म दक्षिण एशियाली खेलकुद महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिप सुरु हुँदैछ ।
साफको तालिका अनुसार पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा हुन लागेको प्रतियोगितामा नेपालसहित चार देशको सहभागिता रहने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिए ।
प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने छ । साफका महासचिव कट्टेलले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए ।
सहभागी देशका खेलाडी आज साँझसम्म पोखरा आइपुग्ने उनको भनाइ थियो ।
‘साफ महिला फुटबल पहिलोपटक राजधानी काठमाडौं बाहिर सञ्चालन हुँदैछ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आज साँझसम्म सहभागी देशका खेलाडी, प्रशिक्षक तथा टोली व्यवस्थापकलगायत यहाँ आइपुग्नुहुन्छ,’ महासचिव कट्टेलले भने ।
सहभागी टोलीका लागि पोखराको लामाचौरस्थित गोष्तेघाट खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ । यसम प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछ ।
लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ गते हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए । प्रतियोगिताले पोखरालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद कार्यक्रमको महत्वपूर्ण केन्द्रका रूपमा थप स्थापित गर्ने विश्वास लिइएको उनले बताए ।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले फुटबल मैदानको स्तरोन्नति, प्लेयर बक्स निर्माणलगायत काम सम्पन्न भएको जानकारी दिए । लामो प्रतिक्षापछि पोखरामा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाले यस क्षेत्रका खेलकुदकर्मी उत्साहित बनेका उनले बताए । प्रतियोगिता सम्पन्न गर्न दुई करोड ४५ लाख खर्च हुने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया