बीमामा असिमित खर्च, सरकारलाई धान्नै नसक्ने भार

लोकपथ
329
Shares

काठमाडौं । अन्तरिम सरकारकी स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा महिनामा दुई अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अवस्था आएकाले तत्काल भुक्तानी गर्न नसकिने बताएकी छन् ।

बिहीबार गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गौतमले चालु आर्थिक वर्षमा स्वास्थ्य बीमाका लागि बजेट नै नरहेको स्पष्ट पारिन् । उनका अनुसार चालु वर्षका लागि छुट्याइएको बजेट गत वर्षको ऋण तिर्दै सकिएकाले बीमामा नयाँ बजेट उपलब्ध छैन ।

मन्त्री गौतमले विनियोजित बजेटभन्दा अत्यधिक बीमा दाबी हुन थालेपछि खर्च असिमित बन्दै गएको उल्लेख गरिन् । ‘यो वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिर्दैमा सकियो, तर खर्च भने महिनामा दुई अर्ब पुग्ने अवस्था आयो, जुन दिन सम्भव छैन,‘उनले भनिन् ।

स्वास्थ्य बीमामा एकोहोरो बोझ परेको भन्दै उनले बीमा सुधार (रिफर्म) अपरिहार्य भएको बताइन् । बीमालाई व्यवस्थित बनाउन मन्त्रालयले आवश्यक सुधारका काम अघि बढाइरहेको र केही नयाँ व्यवस्था ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

मन्त्री गौतमले बीमाको रकम तत्काल भुक्तानी गर्न कार्यकारी पदमा हालै नियुक्त भएका डा.कृष्ण पौडेललाई निर्देशन दिइसकेको जानकारी दिइन् । बीमा कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको साझा जिम्मेवारी भए पनि हालसम्म संघीय सरकारले मात्रै भार बोकिरहेको जिकिर गरिन् ।

उनले संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने व्यवस्था गरे पनि सो सेवासमेत बीमासँग जोडिँदा बिरामीले अनावश्यक रूपमा पैसा तिर्नु परेको अवस्था आएको बताइन् । ‘निःशुल्क पाइने उपचारमा बिरामीले पैसा तिर्नुपर्न न बिरामीका लागि राम्रो हो, न सरकारका लागि, ‘उनले भनिन् ।

स्वास्थ्यकर कोषमा सूर्तिजन्य पदार्थबाट उठेको करमध्ये २५ प्रतिशत रकम बीमामा दिनुपर्ने व्यवस्था ऐनमै भए पनि अहिलेसम्म सो रकम प्राप्त हुन नसकेको मन्त्री गौतमको भनाइ छ । उनले उक्त रकम प्राप्त भए स्वास्थ्य बीमाको आर्थिक संकट ठुलो हदसम्म समाधान हुने उल्लेख गरिन् ।

बीमा कार्यक्रम अहिलेकै स्वरुपमा नचल्ने भन्दै मन्त्री गौतमले रिफर भएर स्वास्थ्य संस्थामा आएका बिरामीलाई मात्रै बीमाबाट सेवा दिनुपर्ने व्यवस्था गर्नुपर्ने धारणा राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?