मेरो प्राथमिकता मानसिक स्वास्थ्य र वैदेशिक रोजगारीमा गएका नागरिकको स्वास्थ्य हो : मन्त्री गौतम

लोकपथ
42
Shares

काठमाडौं । अन्तरिम सरकारकी स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले आफू मन्त्री रहिरहँदा मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

बिहीबार काठमाडौंमा आयोजित ६४औँ वार्षिकोत्सव तथा साधारण सभामा उनले स्वास्थ्य क्षेत्रका विभिन्न चुनौती र सुधारका योजनाबारे जानकारी दिँदै यस्तो बताए ।

मन्त्री गौतमले वैदेशिक रोजगारमा जाने नेपालीहरूको स्वास्थ्य र मातृशिशु मृत्युदर घटाउने कार्यक्रमहरूलाई पनि प्रमुख प्राथमिकतामा राख्ने स्पष्ट पारेकी छन् । उनले प्रणाली सुधार, बीमा कार्यक्रम, औषधि नियमन, खरिद–बिक्री तथा आपूर्तिको विषय सुदृढ बनाउने योजना रहेको बताइन् ।

उनले भनिन्, ‘मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाएको थिएँ । हाम्रो देशबाट वैदेशिक रोजगारमा हजारौँ मानिस जानुहुन्छ । उहाँहरूको स्वास्थ्यको विषयमा पनि फोकस गर्नैपर्छ । महिलाहरूको बारेमा महिलाले नबोले कसले बोल्छ ? चार वटा प्रदेशमा मातृशिशु मृत्युदर अति उच्च छ । ती प्रदेशमा सक्रिय रूपमा मातृशिशु मृत्युदर घटाउने कार्यक्रम सञ्चालन गर्ने मेरो प्राथमिकता हो । प्रणाली सुधार, बीमा, औषधि नियमन र आपूर्तिमा कमजोरी देखिएका ठाउँमा सुधार गर्ने मेरो लक्ष्य छ ।’

मन्त्री गौतमले जीवनको हरेक चरणमा आफूले आफूलाई प्रमाणित गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिँदै नर्सिङ एशोसिएशन नर्सहरूको हकहितका लागि रहेको उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?